Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंको काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्यापछि आफैले ज्यान त्यागेको आशंका !

काठमाडौंको काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्यापछि आफैले ज्यान त्यागेको आशंका !


काठमाडौं । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित एक घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत अवस्थामा भेटिएको घटनाले यतिबेला सबैलाई शोकाकुल बनाएको छ । गोरखा स्थायी घर भइ काभ्रेस्थलीमा एक तलाको घर बनाएर बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनितासहित १३ वर्षीया छोरी र आठ वर्षका छोराको हत्या गरेर पछि आफूले समेत देह त्यगा गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

घरमूली दिनेश पाण्डेकी श्रीमती सुनिता, छोरा र छोरी गरी तीन जनाको शव एउटा कोठामा भेटिएको थियो भने दिनेशको शव फरक कोठामा झुन्डिएको अवस्थामा भेटिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता समेत रहनुभएका प्रहरी उपरीक्षक कृष्ण कोइराला सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार बिहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले सोधीखोजी गरेको र घरमा बोलाउँदा कोही नबोलेपछि खबर गरेर पुगेको प्रहरीले ढोका फोडेर हेर्दा चारै जना मृत भेटिएका बताउनुहुन्छ । मृतक चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

चार वर्षअघि कुवेतबाट फर्किएका दिनेशको श्रीमतीसँग राम्रो सम्बन्ध नभएको छिमेकी र आफन्तले बताएका छन् । दिनेशले घर बेच्नका लागि बैना रकम पनि लिइसकेको तर श्रमती सुनिताले घर नबेच्ने भन्दै बैना रकम फिर्ता गरेको पाइएको छ । सिजनल वर्कर भिसामा सुनिता बेलायत जाने तयारीमा रहेकै समयमा विभत्स घटना घटेको छ । घटनापछि काभ्रेस्थलीको पदमसाल टोल र १३ वर्षकी बालिका, आठ वर्षका बालकको मृत्युपछि उनीहरू पढ्ने स्कुल पनि शोकमा डुबेको छ ।

दिनेशले अरूको हत्या गरेपछि आफूलाई पनि चक्कु प्रहार गरेको तर त्यसरी आत्महत्या नभएपछि झुन्डिएको पाइएको छ । प्रहरीले घटनास्थलबाट ८ पेज लामो ’सुसाइड नोट’ पनि फेला पारेको छ । सुसाइड नोटमा छोराछोरीहरुको माया लागेर आफूसँगै लगेर गएको उल्लेख गरेका पाण्डेले श्रीमतीले सँगै खान बस्न समेत नदिने, ट्वाइलेट जाँदा पनि मोबाइल सँगै लिएर जाने लगायतका कुराहरू नोटमा लेखेको पाइएको छ । यस्तै खाडीमा आफूले ११ वर्ष मिहेनत गरेर कमाएको सम्पत्ति श्रीमतीका दाजुभाइ मिलेर खान खोजेको र आफूलाई महिला हिंसा गरेको भन्दै जेल समेत पठाउन खोजेको प्रतिशोध सुसाइट नोटबाट अभिव्यक्त गरिएको छ । मृतक दम्पतीबिच सम्बन्ध बिग्रिएकै कारण ४ जनाको ज्यान जानेगरि बिभत्स घटना भएको प्रारम्भिक निष्कर्षमा पुगेको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ