Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : एउटै हेडलाईनमा पढौँ प्रमुख ५ खबरहरु

नेपाल अपडेट : एउटै हेडलाईनमा पढौँ प्रमुख ५ खबरहरु


काठमाडौं । दोलखामा भिषण आगलागी, राष्ट्रिय स्वतन्त्र पार्टीमा खटपट, पाइलटको उडान अवतरण संख्या घटाइदै, व्यवसायीलाई नकस्न गभर्नर अधिकारीको बैंकलाई निर्देशन, मौसमी प्रणाली बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

दोलखामा भिषण आगलागी, ९ घर जलेर नष्ट
दोलखाको कालीञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी हुँदा ९ वटा घर जलेका छन् । आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेँढाई, दुर्गा दहाल, चित्रप्रसाद सेँढाई, स्वस्तानी खड्का, शङ्कर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपीलाल थामी, कमला खाती, रामबहादुर थामीको घर जलेर पूर्ण रुपमा नष्ट भएको हो । गएराति ११ बजेदेखि लागेको आगो निक्कै लामो समयपछि मात्रै नियन्त्रणमा आएको कालीञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो । रुद्रबहादुर ओलीको घरबाट विद्युत सर्ट भएर आगलागी सुरु भएको आशङ्का गरिएको छ । आगलागीबाट करोडौँको क्षति भएको छ भने पशुचौपाया पनि मरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

रविको राष्ट्रिय स्वतन्त्र पार्टीमा आन्तरिक खटपट
राष्ट्रिय स्वतन्त्र पार्टी भित्र आन्तरिक घटपट बढ्न थालेको छ । चितवनका सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेसँगै रास्वपा भित्रको आन्तरिक असन्तुष्टि बाहिर आएको हो । पार्टीभित्र सिमित व्यक्तिको मनोमानी चलेको, विधि पद्धती भन्दा व्यक्तिवाद हावी भएर रााा शासन जस्तै हैकमवाद लागु गर्न खोजिएको आरोप लगाउँदै सापकोटाले पार्टी छोडेको घोषणा गरेका छन् । सभापति लामिछाने इमान्दार भएपनि उनी वरिपरिका व्यक्तिहरु, सल्लाहकारहरु गलत भएको आरोप लगाइएको छ । पार्टीमा नेताहरुलाई बोल्ने अधिकारसमेत नदिइएको आरोप लगाएका सापकोटाले जनताको अभिमतलाई बेवास्ता गर्ने पार्टीमा बस्नु उचित नहुने निष्कर्ष सुनाएका छन् । आफू अब स्वतन्त्र रहेको जनाएका सापकोटाले विगतमा चितवन २ बाट केन्द्रीय अध्यक्ष रवि लामिछानेलाई जिताउन भूमिका खेलेका थिए ।

अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटकमात्र अवतरण गर्न पाउने
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आउँदो ग्रीष्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ । आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्न लागेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारि दिनुभएको हो । प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटकमात्र अवतरण गर्न पाउने व्यवस्था गरिने बताइएको छ । अहिले दैनिक १० घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था छ । आईएफआर उडान हुने विमानस्थलमा भीएफआर उडान गर्न नपाइने, पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैँ ५०० फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिटमाथि हुनुपर्ने व्यवस्था लागु गरिने प्राधिकरणले जनाएको छ ।

व्यवसायीलाई नकस्न गभर्नर अधिकारीको निर्देशन
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलतको समस्या देखाएर व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गर्नुभएको छ । व्यवसायीहरुलाई परिरहेको आफ्ठ्यारो बुझेर व्यवसायीहरुलाई कस्ने नीति नलिन बैंकहरुलाई गभर्नर अधिकारीले आग्रह गर्नुभएको हो । व्यवसायिहरुका बैंकिङ समस्यालाई कन्जुमर प्रोटेक्शनका लागि विभिन्न सुनुवाई गर्ने गरिएको दाबी गर्दै गभर्नर अधिकारीले कुनैपनि ग्राहकलाई बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासो गर्न आग्रह गर्नुभयो । अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहेको भएपनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने गभर्नर अधिकारीले बताउनुभयो । पछिल्लो समय बजारमा तरलतामा सहजता आउन लागेको बताउँदै अधिकारीले तरलतामा सहजता आउने भएपछि बैंकको समस्या पनि बिस्तारै कम हुँदै जाने बताउनुभयो । दुई महिनाको अन्तरालमा अन्तरबैंकिङ ब्याजदर ८ प्रतिशतबाट ४.१० प्रतिशतमा झरेको भएका गभर्नर अधिकारीले भन्नुभयो, ‘तपाईहरुले कस्ने बेला होइन यो, एक महिना जति हेर्दिनुहोस् न, एउटा क्वार्टरमा ब्याज नतिर्दैमा तुरुन्तै अक्शन गर्नुपर्छ भन्ने छैन, हाम्रो नियमले पनि त्यो बताउँदैन । अवस्था अनुसार रिकोभरीका काम गर्नुस् भनेका छौँ । बैंकिङ सिस्टममा नर्मली त्यो हुँदैन तरपनि अफ्ठ्यारो बेलामा त्यो गर्नुपर्छ । त्योसँगै अहिले कन्जुमर प्रोटेक्शनको सन्दर्भमा हामीसँग डेडिकेटेट डिभिजन छ, त्यसले विभिन्न किसिमका समस्याहरु सुनुवाई गर्छ ।’

मौसमी प्रणाली क्रमस सुधार हुँदै
तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लागेको छ । मंगलबार दिनभरीजसो तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको र आज पनि दिउँसोसम्म नै हुस्सु, कुहिरो लाग्ने मौसम पुर्वानुमान महाशाखाले जानकारि दिएको हो । पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईका जिल्ला हुस्सु कुहिरोका कारण प्रभावित छन् । हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा भिजिबिलिटी समेत घटेको छ । भिजिबिलिटी घटेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने, तत्काललाई वर्षा र हिमपातको सम्भावना नरहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ