सडक प्रदर्शनको शैली बदल्दै रास्वपा, सभापति रवि भने अझै प्रहरी हिरासतमा !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेपछि सडक प्रदर्शन गर्दै आएका नेताहरुले विरोधको शैली बदल्ने भएका छन । पार्टीभित्रै सडक प्रदर्शनमाथि प्रश्न उठाउदै नेताहरुले विरोध गर्न थालेपछि रास्वपाले सडक प्रदर्शनको शैली बदल्ने भएको हो ।
मंगलबार र बुधबार बसेको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलनमा सडक प्रदर्शनलाई प्राथमिकतामा नदिएर उपनिर्वाचन हुने क्षेत्रहरुमा केन्द्रीय नेताहरु खटाएर मंसिर ८ र ९ मा भेला गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले दुई दिनका लागि तय गरिएको विरोधको कार्यक्रम आन्दोलन नभई कार्यकर्ता भेला गरेर आफ्ना मुद्दा जानकारी गराउने प्रकृतिको हुने जानकारि दिनुभयो । रास्वपाले उम्मेदवारी दिएका स्थानमा केन्द्रीय नेताहरु पुगेर भेला गरिने र सत्ताको रबैयाको विरोध गरिने समेत उहाँले बताउनुभयो । रास्वपा बैठकमा डा.सुमना श्रेष्ठसहित खुश्बु सरकार श्रेष्ठ, गणेश कार्की, असिम शाह, प्रभात अधिकारी लगायतका थुप्रै नेताहरुले आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका थिए । आन्दोलनका लागि परिस्थिति र समय अनुकूल नरहेको जिकिर उनीहरुको थियो ।
कात्तिक २ मा सभापति रवि पक्राउ परेपछि १३ कात्तिकसम्म रास्वपाले सडक प्रदर्शन गरेको थियो । कात्तिक ८ सम्म पार्टीको सिंगो शक्ति पोखरामा केन्द्रित भयो, त्यसपछि काठमाडौंमा प्रदर्शन सुरु गरिएपनि दशै तिहार लगायतका चाडपर्वले स्थगित गरिएको थियो । यसअघिको बैंठकले काठमाडौं केन्द्रित विरोध प्रदर्शन निर्णय गरेको भएपनि दुई दिनको केन्द्रीय समितिपछि सार्वजनिक गरिएको निर्णयमा सडक केन्द्रित प्रदर्शन नभई कार्यकर्तालाई जानकारी गराउने भेला आयोजना गर्ने निर्णय आएको छ ।
तपाईको प्रतिक्रिया