Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकालीगण्डकीमा बन्यो ५६७ मिटर लामो पुल, गिनिज बुक आफ द वल्ड रेकर्डको तयारी

कालीगण्डकीमा बन्यो ५६७ मिटर लामो पुल, गिनिज बुक आफ द वल्ड रेकर्डको तयारी


काठमाडौं । गण्डकी प्रदेशको बाग्लुङस्थित कालीगण्डकी नदीमा संसारकै लामो झोलुङ्गे पुल निर्माण गरिएसँगै संसारकै लामो दाबी गर्दै ‘गिनिज बुक अफ द वल्ड रेकर्ड’ मा दर्ता गराउने तयारी थालिएको छ । बाग्लुङ र पर्वतको कुश्मा जोड्ने यो पुल ५ सय ६७ मिटर लम्बाइको छ ।

बाग्लुङ नगरपालिकाका सूचना अधिकृत युक्तप्रसाद सुवेदीले विश्वकै लामो दाबी गरिएको यो पुलको आवश्यक तथ्याङ्क जाँचका लागि तथ्याङ्क विभागमा पठाइइएको जानकारी दिए । अहिलेसम्म स्वीट्जरल्याण्डमा रहेको सिङ्गल स्पानको ४ सय ९७ मिटर लामो पुल रेकर्डमा छ । बाग्लुङ र पर्वत जोड्ने पुलले गिनिज बुकमा दर्ता पाउनासाथ पुरानो रेकर्डलाई तोड्दै सबैभन्दा लामो पुलको मान्यता पाउनेछ । नाप जाँच तथा प्राविधिक मुल्यांकन लगायतका काम भइरहेको र सबै प्रक्रिया पूरा भएपछि गिनिज बुक रेकर्डमा दर्ता गराउनका लागि मन्त्रालयमार्फत पत्र पठाइने बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

थानी र विएलटिरहिमशिखर जेभीले सात करोड ९७ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको यो पुल बनाउन ९ करोड २५ लाख लागेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँ ठेक्का व्यवस्थापन शाखाले जानकारी दिएको छ । सबैभन्दा लामो यो झलुङ्गे पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको छ । वि.सं.२०७५ चैतमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शिलान्यास गरी यो पुलको निर्माण शुरु भएको थियो । पुल निर्माणकका केही कामहरु बाँकी रहे पनि मानिसहरुको आवतजावत सहज बनाउन खुला गरिदिएको निर्माण कम्पनीले जनाएको छ ।

पुलको औपचारिक रुपमा हस्तान्तरण गर्न भने बाँकी रहेको छ । पुल निर्माण भएसँगै बागलुङ बजारबाट अब १५ मिनेट पैदल दुरीमा नै पर्वतको कुश्मा नगरपालिका– १ पाङ पुग्न सकिनेछ । पुल नहुँदा घुमाउरो बाटोबाट झण्डै डेढ घण्टा पैदल हिड्नुपर्ने बाध्यता थियो । निर्माण कम्पनीका अनुसार ८५ मेट्रिक टन क्षमताको यो पुलको लाइफलाइन ५० वर्ष रहेकोछ ।

फोटो : खबरहबबाट



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ