Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaशेष घले दम्पतीको एमआईटी फाउण्डेशनद्धारा नेपाललाई ३ करोडको स्वास्थ्य सामाग्री सहयोग

शेष घले दम्पतीको एमआईटी फाउण्डेशनद्धारा नेपाललाई ३ करोडको स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं, ब्रिजबेज । गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित एमआईटी ग्रुप फाउण्डेसनले नेपालका कोरोना संक्रमितको उपचारका लागि थप तीन करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले नेपालका कोरोना संक्रमितको उपचार सहज बनाउने उद्देश्यले २२० थान अक्सिजन कन्सन्ट्रेटर खरीद गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

कोरोना संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित राख्न खोपको विकल्प नभएको ठहर गरेका फाउण्डेसनका निर्देशकद्वय शेष घले र जमुना गुरुङले विभिन्न खोप उत्पादक कम्पनी, कोभ्याक्स अभियान सञ्चालन गरिरहेको संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको जानकारी गराएका छन् । फाउण्डेसनकी निर्देशक जमुना गुरुङले कोरोना कहरसँग लडिरहेको मातृभूमिप्रतिको दायित्वबोध गरेर आपतकालीन सहयोग स्वरुप २२० कन्सन्ट्रेटर हस्तान्तरण गरिएको जानकारी दिनुभयो । फाउण्डेसनले गत वर्ष कोरोना प्रभावितको सहयोगका लागि भन्दै सरकारी कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको थियो । यो समेत फाउण्डेसनले कोरोना संक्रमण रोकथामका लागि नेपाललाई ६ करोड रुपैयाँ सहयोग गरेको छ ।

फाउण्डेसनले यसअघि नेपालले भोगेका ठूला विपद्हरु जस्तै महाभूकम्प, नाकाबन्दी, बाढीपहिरो लगायतका संकटमा नेपाल र नेपालीलाई सहयोग गर्दै आएको छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले र उहाँकी धर्मपत्नी जमुना गुरुङले स्थापना गरेको परोपकारी संस्था एमआईटी ग्रुप फाउण्डेसनले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरी केही वर्षअघि एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ