क्यालिफोर्नियाको साक्रामेन्टोमा गोली चल्दा ६ जनाको निधन
गणेश थापा/ अमेरिकाको क्यालिफोर्निया राज्यस्थित साक्रामेन्टोमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । आइतबार विहान सवेरै भएको सो घटनामा परी अन्य १० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
घटनास्थलमा तत्कालै पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पठाउने लगायतका अत्यावश्यक कार्यपश्चात अहिले मृतक, घाइते तथा घटनाको बारेमा थप विवरण प्राप्त गर्नेतर्फ आफूहरू केन्द्रित रहेको साक्रामेन्टो प्रहरी प्रमुखले बताएका छन् ।
साक्रामेन्टो शहरको व्यस्त इलाका डाउनटाउन क्षेत्रमा रहेको नाइटक्लब नजिकै बिहान करीव २ बजेतिर मानिसहरूको समूह बीच गोलाबारी भएको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।
घटनाको बारेमा थप प्रहरी परिचालन गरी खोजतलास तथा अनुसन्धानको कार्य भइरहेको स्थानीय प्रहरीले बताएको छ ।
गोलीकाण्डमा संलग्न रहेकाहरूलाई नियन्त्रणमा लिने प्रयास स्वरूप घटनास्थलको अवलोकन र गोली लागी घाइते भएका र अन्य पक्षसंग समेत सोधपुछ गरिरहेको प्रहरीको भनाई छ ।
अमेरिकामा माससुटिंगका यस्ता गोलाबारी बाराम्बार दोहोरिरहन्छन् । व्यक्ति एवम् समूहबीच हुने गोली हानाहानका घटनामा परी वर्षेनि सयौं मानिसको ज्यान जाने गरेको छ ।
व्यक्तिगत सुरक्षाका लागि हतियार राख्न पाउने खुकुलो नीतिको विभिन्न सरोकारवाला पक्षबाट विरोध हुनेगरेतापनि पुरानो नियममा खासै परिवर्तन गरिएको छैन ।
तपाईको प्रतिक्रिया