राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको सम्मान, जनही ५ लाख दिइने
काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको छ । वालुवाटारमा आज सबै खेलाडीलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले सम्मान गर्नुभएको हो ।
नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो । नेपालले एक महिनाको अन्तरमा अदित्तीय प्रदर्शन गर्दै १२ मध्ये ११ खेल जित्यो । घरेलु मैदानमा भएको पछिल्लो दुई शृंखलाको चारै खेल जित्दै क्लिन स्वीप गरेको नेपाली टोलीले यूएईमा भएको शृंखलाका चारमध्ये तीन खेल जितेको थियो ।
खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिइने
सम्मान कार्यक्रमबाटै प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा समेत गर्नुभएको छ । स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जिते लगत्तै गत महिना खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर सम्मान गर्दै जनही २ लाख दिने घोषण गर्नुभएको थियो । अहिले फेरि यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न सफल भएपछि जनही ३ लाख दिने घोषणा गरिएको छ । प्रधानमन्त्रीका दुबै घोषणा अनुसार अब खेलाडीले प्रति व्यक्ति ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
खेल हार्दा भोलीको जितको तयारीमा लाग्न प्रोत्सहन कसैले दिदैनन । खेल जित्दा खुसीको उन्माद जसरी सम्मान र नगद पुरस्कारको घोषणा गरिन्छ । आवश्यक खेल पूर्वाधार विकास, खेलाडीको आर्थिक अवस्थालाई बलियो बनाउन राज्यले पर्याप्त ध्यान दिन सकेको छैन ।
तपाईको प्रतिक्रिया