Tuesday, 23 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalओलीको पक्षमा दुई तिहाई मत, नायक बन्ने कि सत्ता दाउपेचका खलनायक ?

ओलीको पक्षमा दुई तिहाई मत, नायक बन्ने कि सत्ता दाउपेचका खलनायक ?


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभाका दुई तिहाई सांसदको विश्वासको मत पाउनुभयो । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा गत असार ३० मा नियुक्त प्रधानमन्त्री ओलीले १८८ सांसदबाट विश्वासको मत पाएसँगै अब देशका सबै क्षेत्रमा सकारात्मक सुधार हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओलीको चौथो सत्ता यात्रासँगै विकासको रफ्तार सुरु हुने, डामाडोल अर्थतन्त्रमा सुधार हुने, मारमा परेका उद्योगी व्यवसायीले राहत पाउने, जनतामा बढेको निरासा सबै हटेर खुसी र सुख मिल्ने आशा गरिएको छ । कांग्रेस अनि एमालेका नेताहरुले पनि जनतामाझ यहि विश्वास बाढिरहेका छन् । यता, सत्ता पक्षबाट प्रमुख प्रतिपक्षी बनेको निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दल नेकपा माओवादी केन्द्र, निवर्तमान उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गुण वा दोषका आधारमा समर्थन अनि विरोधसहित शसक्त प्रतिपक्षीको भुमिका खेल्ने रणनीति बनाएर आफ्ना सांसदलाई सोही अनुसार प्रस्तुत गराउन थालेका छन् । यसले समेत ओली सरकारमाथी चुनौती बढाउने आँकलन गरिएको छ ।

नयाँ संविधान जारी भएपछि २०७२ असोज २४ गते पहिलोपटक प्रधानमन्त्री बन्नुभएका ओलीले रूपान्तरित व्यवस्थापिका संसद्मा उपस्थित ५९८ सभासदमध्ये ५५७ जना मतदान प्रक्रियामा सहभागि हुँदा ३३८ मत प्राप्त गरेर प्रधानमन्त्री बन्नुभएको थियो । जतिबेला कुल उपस्थितमध्ये ६०.६८ प्रतिशत मत उहाँले पाउनुभयो । दोस्रो पटक २०७४ साल फागुन २१ गते प्रधानमन्त्री बन्दा ओलीले २०८ मत पाउनुभएको थियो । २६८ सांसद उपस्थित हुँदा विपक्षमा ६० मत परेको थियो । अर्थात ७७.६१ प्रतिशत मत प्रधानमन्त्री ओलीले पाउनुभयो । जुन बेला आफ्नै पार्टी नेकपासँग भारी बहुमत थियो । राष्ट्रिय मान्यता प्राप्त पाँच दल एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले ओलीलाई साथ दिए पनि उहाँले देश र जनताको पक्षमा इमान्दार भुमिका खेल्न नसकेको विश्लेषण भैरहेको छ । नेकपामा बढेको अन्तरकहलका कारण जुनबेला प्रधानमन्त्री ओलीले दुईदुई पटक संसद विघटनको असफल प्रयास गर्नुभयो । यहि कारण संसदीय मुल्यमान्यता, व्यवस्था बिरोधीको आरोप ओलीले अहिलेसम्म पनि ब्यहोर्नुपरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सदनबाट विश्वासको मत लिदैगर्दा अहिले सिंगो देश निराशामा रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक भोगेको स्मरण गराउँदै ब्याजदर समेत अत्यन्त न्युन हुँदा बैंकहरुमा पैसा थुप्रिएको, लगानी गर्न व्यवसायीहरु तयार नभएको, विकास निर्माण लथालिंग बन्दा भ्रष्टाचारले सीमा नाघेको भन्दै निरासा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले यसअघिको प्रचण्ड सरकार स्टन्टबाज, थुन्ने अनि सुन्ने अभियानमा लाग्दा देशप्रति आम जनताको भरोसा टुटेको जिकिर गर्नुभयो । निराशा हटाउन, आशाको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक दिशामा लैजान वर्तमान सरकार बनेको दाबी गरिदैगर्दा अनेकन लेखाजोखा अनि विश्लेषण अहिलेदेखी नै हुन थालेका छन् । एकै ठाउँमा उभिएका दुई ठूला दल कांग्रेस अनि एमालेलाई अब गल्ती गर्ने छूट नभएको दाबी स्वयम कांग्रेस नेता शेखर कोइरालाले गर्दै हुनुहुन्छ । देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको कुरा जनताले बारम्बार बताउदै आएकोमा बल्ल प्रधानमन्त्री ओली आफैले महसुश गर्नुभएको छ ।

अब ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई न त मन्त्रीलाई, कसैलाई हुनेछैन ।’ अन्तिम परिक्षामा रहेका कांग्रेस एमालेले काण्डैकाण्डले बद्नाम बनेको देशलाई कसरी सुशासनको युगमा थकेल्छन ? गिरिबन्धु टि–स्टेट प्रकरण, यति/ओम्नी काण्ड, भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा काण्ड, सहकारी ठगी प्रकरण, क्यान्टोन्मेन्ट घोटाला, सुन काण्ड लगायतमा सरकारको एक्सन के हुन्छ ? भन्ने आशो अहिले आम जनतामा छ । यीनै काण्डमाथीको अनुसन्धान र कानुनी निकासले ओली सरकारको सुशासनको प्रतिबद्धता र अरु कामको लेखाजोखा सुरु हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ