किरात समुदायले मनाए उधौली पर्व, आजै धान्यपूर्णिमा पनि मनाइयो
काठमाडौं । आज किरात समुदायले प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाएका छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउछन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा किराँती पुर्खा धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्दछन् । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा भनिन्छ । यो पर्वमा सामूहिक रुपमा साकेला नाची उधौली मनाइन्छ ।


आजै धान्यपूर्णिमा
आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व समेत मनाइएको छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा रहिआएको छ ।

नयाँ धान भित्र्याएको खुसियालीमा उपत्यकालगायत देशभरका नेवार समुदायले योमरी पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस हर्षोल्लासका साथ मनाउने गर्दछन् । (फोटो – नेपाल फोटो लाइब्रेरी)
















तपाईको प्रतिक्रिया