करिब डेढ लाख निर्वाचन प्रहरीको एकसाथ बिदाई !
काठमार्डौ । फागुन २१ गतेको निर्वाचनका लागि भर्ना भएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीलाई सम्मानपत्र सहित बिदा गरिएको छ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरी परिचालन गरिएको थियो । निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै ४० दिनसम्म निर्वाचन सुरक्षामा खटाइएका म्यादी प्रहरीको बिदाई देशभरका विभिन्न प्रहरी युनिटबाट एक साथ गरिएको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारि दिनुभयो । सशस्त्र प्रहरीले समेत १५ हजार ११० जनाको बिदाई गरेको प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षामा ४० दिन खटिएबापत सरकारले निर्वाचन प्रहरीलाई ३४ हजार ७७६ रुपैयाँ तलब, रासन तथा आउजाउका लागि ८४६ रुपैयाँ तयारी खर्च, ४ दिनका लागि दैनिक ३ सय रुपैयाँका दरले खाजा खर्च पनि उपलब्ध गराइएको छ। पोसाकबापत छुट्टै रकम उपलब्ध गराइएको छ । निर्वाचन प्रहरीका लागि सेवा–सुविधामा करिब ७ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको छ ।

११ जना निर्वाचन प्रहरीको निधन, २० लाख विमाबापत परिवालाई
निर्वाचनको ड्युटीका क्रममा ११ जना निर्वाचन प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परेर नेपाल प्रहरीका एक असईले समेत ज्यान गुमाउनुभएको छ । ड्युटीका क्रममा मृत्यु भएका निर्वाचन प्रहरीका परिवारलाई सरकारले बिमाबापत २० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ। बिरामी परेका निर्वाचन प्रहरीको उपचार खर्च पनि सरकारले बेहोरेको छ । Photo-NPL


















तपाईको प्रतिक्रिया