कहाँ बस्लान नयाँ मन्त्रीहरू ?
यस्तो छ भैसेपाटी मन्त्री क्वाटरको अवस्था !
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएसँगै अबको केही दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । सरकार गठन भए पनि मन्त्रीहरूका लागि सरकारी आवासको व्यवस्था तत्काल सहज नहुने अवस्था छ ।

ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास भाद्र २४ गते भएको तोडफोड, लुटपाट र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मन्त्रीहरूका लागि बसोबासको समस्या देखिने भएको हो । करिब एक अर्ब ३४ करोड रुपियाँ खर्चेर निर्माण गरिएको उक्त आधुनिक आवास क्षेत्र प्रयोगमा आएको एक वर्षमै जेन जि आन्दोलनमा क्षतिग्रस्त भएको छ ।

मन्त्री क्वाटरमा बस्न मिल्ने अवस्था नभएकोले नयाँ सरकारका मन्त्रीहरूका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिने योजना बनाइएको संघीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । तत्काल काठमाडौँ उपत्यकामा आफ्नै घर भएका मन्त्री आफ्नै घरमा बस्न सक्ने तथा अन्य मन्त्रीका लागि आवश्यक परे भाडामा घर लिएर बसोबासको व्यवस्था मिलाइने तयारीमा सरकार रहेको छ

यता, क्षतिग्रस्त मन्त्री निवास पुनर्निर्माणका लागि प्रक्रिया भने सुरु भइसकेको छ । २७ वटा भवन रहेको परिसरमा धेरै क्षति पुगेका केही भवनको अध्ययन गरी पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । प्राविधिक तथा आर्थिक मूल्याङ्कनपछि योग्य निर्माण कम्पनीसँग सम्झौता गरेर काम अघि बढ्नेछ । सरकारले चालु आर्थिक वर्षको असार मसान्तसम्म पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । Photo-NPL

















तपाईको प्रतिक्रिया