सुनसरीको कप्तानगञ्ज घटनापछि विकसित परिस्थितिबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ।
बैठकमा प्रमुख राजनीतिक दलका नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। उनीहरूले संवाद, निष्पक्ष छानबिन र दीर्घकालीन समाधानमा जोड दिएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने बताएका छन्।
उनले प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताए। बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान नभएको उनको भनाइ छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पनि प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले प्रधानमन्त्रीले सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय बैठक बोलाउनुपर्ने बताए। राष्ट्रपति, प्रदेश सरकार र स्थानीय सरकारसँग पनि संवाद गर्नुपर्ने उनको भनाइ छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कप्तानगञ्ज घटनाको छानबिनका लागि तत्काल आयोग गठन गर्न माग गरेका छन्। उनले धार्मिक संवेदनशील विषयमा राज्यले समान व्यवहार गर्नुपर्ने बताएका छन्।
मृतकका परिवारलाई राहत, क्षतिपूर्ति र घाइतेको प्रभावकारी उपचार सुनिश्चित गर्न पनि उनले माग गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा सबै दलले सामाजिक सद्भाव कायम राख्दै संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।