हामी कुनै देश वा महाद्वीपलाई दोष दिन आएका होइनौं: बालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष दिन नहुने बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै शाहले जलवायु परिवर्तनलाई भू-राजनीतिक द्वन्द्वको विषय समेत बनाउन नहुने बताएका छन्।
उनले जलवायु परिवर्तनले कुनै सीमा नचिन्ने भन्दै नेपालमा भएको विपत्तिको असर छिमेकी मुलुकसम्म पनि पुगेको उल्लेख गरेका छन्।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले नेपाल–चीन सीमाका दुवैतर्फ क्षति पुर्याएको र त्यसको प्रभाव भारतसम्म पुगेको बताएका छन्।
शाहले जलवायु संकट सामना गर्न सबै देशले साझा जिम्मेवारी र सहकार्यमा जोड दिनुपर्ने बताए। ऐतिहासिक रूपमा जलवायु संकटमा बढी योगदान गरेका र त्यसको सामना गर्ने क्षमता भएका देशले बढी जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
नेपालले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको शाहले बताएका छन्।
उनका अनुसार हिमनदी पग्लिने, पहाडी भूभाग अस्थिर हुने र नदीको बहाव अनिश्चित बन्ने क्रम बढिरहेको छ।
भोटेकोशी-त्रिशूली विपत्तिमा कम्तीमा १ हजार ४ सय जनाको मृत्यु र ६ हजारभन्दा बढी मानिस बेपत्ता रहेको जानकारी दिए। शाहले पुनःस्थापनाका लागि नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबरको आवश्यकता पर्ने बताएका छन्।
जलवायुजन्य विपत्तिले सडक, पुल, विद्यालय, घर, कृषि तथा जीविकोपार्जनमा क्षति पुर्याउने भन्दै उनले यसलाई नेपालका लागि मानवीय संकटसँगै विकासको आपतकालका रूपमा लिनुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







