अस्ट्रेलियामा नेपाली सांस्कृतिक केन्द्र बनाउन विपक्षी गठबन्धनको १० लाख अस्ट्रेलियन डलर प्रतिबद्धता

अस्ट्रेलियाको भिक्टोरियामा नेपाली समुदायका लागि बहुउद्देश्यीय सांस्कृतिक हल निर्माण गर्न लिबरल-नेसनल गठबन्धनले १० लाख अस्ट्रेलियन डलर दिने प्रतिबद्धता जनाएको छ।
भिक्टोरियाका विपक्षी नेता जेस विल्सनले डिगर्स रेस्टस्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी) को नयाँ हल निर्माणको पहिलो चरणका लागि उक्त रकम दिने घोषणा गरेकी हुन्।
यो रकम २०२७-२८ र २०२८-२९ आर्थिक वर्षमा ५-५ लाख डलरका दुई किस्तामा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। रकम हलको मुख्य संरचना तथा आवश्यक पूर्वाधार निर्माणमा खर्च गरिनेछ।
घोषणा विपक्षी नेता विल्सन र बहुसांस्कृतिक तथा बहुधार्मिक मामिलाका छायामन्त्री इभान मुलहोल्यान्डले एएनएमसी अध्यक्ष डा. तिलक पोखरेलसहित नेपाली समुदायका प्रतिनिधिको उपस्थितिमा संसद् भवनमा गरेका हुन्।
नयाँ हलमा दशैं, तिहार, तीज, होली र महाशिवरात्रिलगायतका सांस्कृतिक कार्यक्रमसँगै नेपाली तथा संस्कृत भाषा कक्षा, युवा तथा ज्येष्ठ नागरिकका कार्यक्रम र अन्तरधार्मिक गतिविधि सञ्चालन गर्ने योजना छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






