युएई जाने नेपाली श्रमिकको पुलिस रिपोर्ट शुल्क ५० प्रतिशत घट्ने

युएईले नेपाली श्रमिकसँग पुलिस रिपोर्ट प्रमाणीकरणका नाममा लिँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा संघका पदाधिकारी र नेपालका लागि युएईका राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शम्सीबीच भएको भेटवार्तामा यस्तो जानकारी दिइएको हो।
भेटवार्तामा संघले नेपाली श्रमिकका लागि पुलिस रिपोर्ट प्रमाणीकरणको व्यवस्था हटाउन अनुरोध गरेको थियो।
राजदूतले भने पुलिस रिपोर्ट प्रमाणीकरण युएईको आन्तरिक सुरक्षा व्यवस्थासँग सम्बन्धित भएकाले प्रक्रिया पूर्ण रूपमा हटाउन नसकिने बताएका छन्।
संघका अनुसार अक्टोबर २०२६ देखि प्रमाणीकरण शुल्कमा ५० प्रतिशत छुट दिइनेछ। साथै, हाल लाग्दै आएको समय घटाएर ३ कार्यदिनभित्र पुलिस रिपोर्ट प्रमाणीकरण हुने व्यवस्था गरिएको राजदूतले जानकारी दिएका छन्।
हाल युएईले पुलिस रिपोर्ट प्रमाणीकरणका लागि ३५३.२७ दिराम अर्थात् १४ हजार रुपैयाँभन्दा बढी शुल्क लिँदै आएको छ।
संघले यो शुल्कका कारण युएई जाने नेपाली श्रमिकमाथि अतिरिक्त आर्थिक भार परेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






