NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

अष्ट्रेलियामा छोरा-बुहारी भेट्न गएका आमाबुबामाथि चोरीको आरोप, भन्नुहुन्छ- कानुनी उपचारमा जान्छौं

नेपालट्युब

अस्ट्रेलियाको ब्रिसबेनमा नेपाली वृद्ध दम्पतीमाथि पसलबाट सामान चोरी गरेको आरोप लगाउँदै खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर उक्त आरोप झुटो भएको उहाँहरूले बताउनुभएको छ।

सुर्खेतका बलराम शर्मा र रम्बादेवी शर्मा दम्पती छोरा, बुहारी र नातिलाई भेट्न १५ दिनअघि मात्रै अस्ट्रेलिया पुग्नुभएको थियो। सेप्टेम्बर २३ मा बलराम शर्मा र रम्बादेवी शर्माकी बुहारी सुमिक्षा भण्डारीले ९ डलरको इलेक्ट्रिक रेजरसहित केही सामान किन्नुभएको थियो।

सामान किनेपछि वृद्ध पुरुष बलराम शर्माले रेजरको बट्टा निकालेर हेर्दै हुनुहुन्थ्यो। त्यही बेला एक व्यक्तिले उनीहरूमाथि चोरीको आरोप लगाउँदै भिडियो खिचेको तर सो कुरा आफूरहरूले थाहा नपाएको उहाँले बताउनुभएको छ।

‘म बुहारीले किनिदिएको सामान श्रीमती र नातिसँग बसेर बाहिर हेर्दै थिएँ। तर एक जनाले भिडिओ बनाएको रहेछ,’ मलाई पनि थाहा भएन,’ बलराम शर्माले भन्नुभयो, ‘किनेपछि सामान हेर्दा एक व्यक्तिले हामीमाथि चोरीको आरोप लगाउँदै भिडिओ बनाएको रहेछ। पछि मात्रै थाहा पायौं।’

बुहारी सुमिक्षा भण्डारीले सामान सेल्फ-चेकआउट गरी कार्डमार्फत भुक्तानी गरेको बताउनुभयो।

‘त्यो दिन किनमेल गराउन म आफैं गएको थिएँ,’ उहाँले भन्नुभयो, ‘बुबाले रेजर चाहिएको छ भनेपछि त्यो किनेँ र सेल्फ-चेकआउट गरी कार्डबाट पे गरेर हिँडे।’

तर रेजरको बट्टामा रहेको सुरक्षा ट्याग निकाल्न भने बिर्सिएको उहाँले बताउनुभएको छ।

‘घर आएर त्यो भिडिओ देखेपछि मात्रै सुरक्षा ट्याग निकाल्न बिर्सिएको रहेछु भनेर थाहा पाएँ,’ उहाँले भन्नुभयो, ‘घरमा सामान निकाल्दा पनि याद नै भएन। ‘

परिवारले आफूहरूसँग सामान खरिदको बिल रहेको र ट्यागसहितको रेजरको बट्टा पनि प्रमाणका रूपमा सुरक्षित राखेको जनाएको छ।

भिडियो भाइरल भएपछि वृद्ध दम्पती मानसिक रूपमा प्रभावित भएको र भिडियो हटाउन आग्रह गर्दा पनि नमानेपछि कानुनी उपचारको तयारी गरिएको परिवारले जनाएको छ।

बुहारी सुमिक्षाले प्रहरीकोमा उजुरी गर्ने र सपिङ सेन्टरको सीसीटीभी फुटेजसहित उपलब्ध प्रमाण प्रहरीसमक्ष बुझाएर कानुनी पक्रियामा जाने बताउनु भयो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार