विदेशबाट फर्किँदा कति सुन–चाँदी ल्याउन पाइन्छ?

विदेशमा बसेर नेपाल फर्किने नेपाली यात्रुले व्यक्तिगत प्रयोजनका लागि निश्चित परिमाणमा सुन, चाँदी, गहना तथा अन्य सामान महसुल छुट वा महसुल तिरेर ल्याउन पाउने व्यवस्था छ।
भन्सार विभागका अनुसार विदेशबाट फर्किने नेपालीले एक सय ग्रामसम्म काँचो सुन महसुल तिरेर नेपाल ल्याउन पाउँछन्।
सुनका गहनामा भने पुरुषले २५ ग्रामसम्म र महिलाले ५० ग्रामसम्म महसुल नतिरी ल्याउन पाउने व्यवस्था छ।
त्यसैगरी, महसुल छुटको सीमाभन्दा बाहेक पुरुष वा महिलाले थप एक सय ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा लाग्ने महसुल तिरेर ल्याउन पाउँछन्।
चाँदी वा चाँदीका गहनाको हकमा ५०० ग्रामसम्म महसुल तिरेर ल्याउन सकिने भन्सार विभागले जनाएको छ।
यस्तै, एक लाख रुपैयाँसम्म मूल्यका जवाहिरात जडित सुन वा चाँदीका गहना पनि महसुल तिरेर ल्याउन पाइन्छ।
भन्सार विभागका अनुसार तोकिएकोभन्दा बढी सुन, सुनका गहना वा मदिरा ल्याएमा त्यस्तो सामान जफत हुने व्यवस्था छ।
अन्य सामानको हकमा भने औचित्य हेरी नियमानुसार महसुल तिरेर लैजान स्वीकृति दिन सकिने व्यवस्था छ।
विदेशबाट फर्किने नेपाली यात्रुले लुगाफाटा, बरबिछ्यौना, घरगृहस्थीका पुराना सामान, उपचारपछि ल्याइएका औषधि तथा शारीरिक अशक्त यात्रुले सहाराका रूपमा प्रयोग गर्ने सामान महसुल नतिरी ल्याउन पाउँछन्।
त्यस्तै, घडी, क्यामेरा, भिडियो क्यामेरा र मोबाइल फोन एक–एक थान पनि महसुल छुटमा ल्याउन पाइन्छ। बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान तथा पेशागत प्रयोजनका सामान्य सामान एक–एक थानमा पनि छुट दिइएको छ।
यात्रुले ७ किलोग्रामसम्म खाद्य परिकार र १ लिटरसम्मको एक बोतल मदिरा पनि महसुल छुटमा ल्याउन पाउने व्यवस्था छ।
भन्सार विभागले यात्रुहरूलाई तोकिएको सीमाभन्दा बढी सामान ल्याउँदा जफत हुन सक्ने भएकाले भन्सारसम्बन्धी नियम पालना गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






