NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

गैरआवासीय नेपालीका समस्या समाधान गर्न कानुन संशोधन गर्ने परराष्ट्रमन्त्रीको प्रतिबद्धता

नेपालट्युब

परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपालीका नागरिकता, सम्पत्ति, बैंक खाता, लगानी र नेपाल आउजाउसँग जोडिएका समस्या समाधान गर्न कानुन संशोधन गर्ने बताउनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको अष्ट्रेलिया प्रवास नेपाली सम्पर्क विभाग, भिक्टोरियाद्वारा आयोजित विशेष भेटघाट कार्यक्रममा मन्त्री खनालले सो विषयमा काम भइरहेको बताउनुभयो।

विदेशमा रहेका नेपालीले नेपालमा लगानी गर्न नपाउने नभएको स्पष्ट पार्नुभयो।

उहाँले लगानीका लागि विद्यमान प्रक्रिया गैरआवासीय नेपालीलाई बुझेर र अघि बढ्न कठिनाइ भइरहेको स्वीकार गर्नुभयो। त्यसलाई सहज बनाउन सरकारले काम गरिरहेको समेत उहाँको उनको भनाइ छ।

‘लगानी गर्न नपाउने भन्ने होइन, पाउनुहुन्छ। तर प्रक्रिया लामो भएकाले मानिसलाई नेभिगेट गर्न गाह्रो भइरहेको छ,’ उहाँले भन्नुभयो।

यस्तै गैरआवासीय नागरिकता प्राप्त नेपालीलाई नेपाल प्रवेश गर्दा भिसा लिनुपर्ने वर्तमान व्यवस्थाको अन्त्यका लागि अध्यागमनसम्बन्धी कानुन संशोधन आवश्यक रहेको उहाँले बताउनुभयो।

पैतृक सम्पत्तिको उपभोग, मालपोतसम्बन्धी कारोबार तथा नेपालमा बैंक खाता खोल्न पाउने व्यवस्थाका लागि पनि विद्यमान कानुनी प्रावधानमा सुधार आवश्यक रहेको उहाँको भनाइ छ।

‘केही नेपाल ऐन संशोधन गरेपछि तपाईंहरूका धेरै समस्या समाधान हुन्छन्। त्यसले गैरआवासीय नागरिकतालाई पनि पहिचान गर्छ,’ मन्त्री खनालले भन्नुभयो।

उनले गैरआवासीय नेपालीसँग सम्बन्धित कानुनी सुधारलाई संसद्को आगामी अधिवेशनबाटै अघि बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो।

‘सक्दो चाँडो गर्छौं। त्यसका लागि केही समय लाग्छ, तर सकेसम्म छिटो गर्छौं,’ उहाँले भन्नुभयो।

भेटघाटका क्रममा राजदूत नियुक्ति, कन्सुलर सेवा तथा राहदानी सेवासँग सम्बन्धित विषयसमेत उठाइएको थियो।

मन्त्री खनालले कन्सुलर तथा राहदानी सेवाको प्रभावकारिता बढाउन के गर्न सकिन्छ भनेर काम गरिरहेको बताउनुभयो ।

उहाँले आवश्यकता अनुसार सेवा आउटसोर्स गर्ने तथा विभिन्न मुलुकमा कति नेपाली नियोग, कन्सुलेट आवश्यक छन् भन्नेबारे अध्ययन गरेर आवश्यक निर्णय लिइने बताउनुभयो।

उहाँले कन्सुलर तथा राहदानी सेवासहित गैरआवासीय नेपालीका समस्या समाधानका विषयमा करिब छ महिनाभित्र ठोस निष्कर्षमा पुग्ने गरी काम अघि बढाइएको जानकारी दिनुभयो।

फिजी र टुभालुमा आयोजित प्रि-कोप लिडर्स इभेन्टमा सहभागी हुन मन्त्री खनाल अक्टोबर ६ मा लिडर्स प्लेनरीलाई सम्बोधन गर्न पुग्नुभएको थियो।

अहिले मन्त्री खनाल अष्ट्रेलिया भ्रमणमा हुनुहुन्छ। उहाँको अष्ट्रेलियाका विदेश मन्त्री पेनी वङसँग दुई पक्षीय भेटवार्ता गर्ने तयारी छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार