बूढीगण्डकीको बाढीले त्रिशूलीमा बहाव बढ्न सक्ने, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

उत्तरी गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले बूढीगण्डकी र त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार बाढीको बहाव बढ्ने र घट्ने क्रम जारी रहेकाले बूढीगण्डकी नदी किनारका बस्तीमा जोखिम छ। बाढीको सम्भावित प्रभाव आरूघाटसम्म पर्ने आकलन गरिएको छ।
पराजुलीका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ तल्लो तटीय क्षेत्रमा पूर्वसूचना पठाइएको थियो। सर्वसाधारणलाई एसएमएसमार्फत समेत सचेत गराइएको उहाँले बताउनुभयो।
बाढीले गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा घर, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको छ।
प्रारम्भिक विवरणअनुसार नदीमा आएको बाढीले बस्तीका घर तथा झोलुङ्गे पुलहरू बगाएको छ।
बाढीमा पानीसँगै गेग्रानसमेत मिसिएको देखिएको छ। माथिल्लो क्षेत्रमा पहिरोका कारण नदी थुनिएर बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको भए पनि यसको वास्तविक कारणबारे अध्ययन भइरहेको पराजुलीले बताउनुभएको छ।
बाढीको बहाव अझै घटबढ भइरहेकाले नदी किनारका होचा बस्तीमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान र अर्को सूचना जारी नभएसम्म सतर्क रहन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







