NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

बूढीगण्डकीको बाढीपछि मनास्लु क्षेत्रमा पाँच विदेशी पर्यटकसहित नौ जना ओडारमा

नेपालट्युब

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीपछि पाँच विदेशी पर्यटकसहित नौ जना ओडारमा आश्रय लिएर बस्नुभएको ।

बाढीका कारण आफू बसेको होटलमा ढुंगा र गेग्रान आएपछि उनीहरू ज्यान जोगाउन नजिकैको ओडारमा पुगेको पर्यटक गाइड दिपेश अर्यालले जानकारी दिनुभयो। उहाँहरू पाँच विदेशी पर्यटक र चार जना नेपाली हुनुहुन्छ।

दिपेशका अनुसार आइतबार बिहान करिब ४ बजेतिर होटलमा भूकम्प गएको जस्तो कम्पन महसुस भएको थियो। बाहिर अँध्यारो भएकाले सुरुमा के भएको भन्ने थाहा नभएपछि उहाँहरू बत्ती बालेर नजिकैको ओडारमा जानुभएको थियो।

बिहान उज्यालो भएपछि होटलको अवस्था हेर्दा झ्यालका सिसा फुटेको र डाइनिङलगायतका कोठामा ढुंगा तथा गेग्रान छरिएको देखिएको उहाँले बताउनुभयो।

बिहान करिब साढे ६ बजे होटलमा गएर झोला र पासपोर्ट लिएपछि उनीहरू पुनः ओडारमै फर्किएर बस्नुभएको छ।

उहाँहरू न्याक फेदीस्थित होटलभन्दा माथिको ओडारमा रहेको दीपेशले बताउनुभएको छ। आफूहरू सुरक्षित रहे पनि त्यहाँबाट अन्यत्र जान सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो।

‘हामीले टानलाई जानकारी गराएका छौँ। जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा भएको छ। प्रहरी चौकीबाट समेत फोन आएको थियो,’ उनले भने, ‘अहिले हामी उद्धारको प्रतीक्षामा छौं।’

उहाँका अनुसार नेपाली सेनाको हेलिकप्टरले उक्त क्षेत्रको अनुगमन गरेर गएको थियो।

जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानमै बसेर अर्को सूचना पर्खन अनुरोध गरेको उहाँले बताउनुभयो।

मनास्लु क्षेत्र लार्केपास र मनास्लु आधार शिविर जाने प्रमुख पदमार्ग हो।

पर्यटकीय सिजन चलिरहेका बेला उक्त क्षेत्रमा अन्य पर्यटकसमेत प्रभावित भएको हुन सक्ने आशंका गरिएको छ।

उहाँहरूले आफूहरूसहित बाढीका कारण समस्यामा परेका अन्य यात्रुको पनि तत्काल उद्धार गर्न आग्रह गर्नुभएको छ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार