बुढीगण्डकीमा बाढी आएपछि पहाड चढेर ज्यान जोगाएकी फुर्बु साङ्बो

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिवासस्थित न्याकफेदी भिरमा विदेशी नागरिकसहित ८ जनाको उद्धार भएको छ।
आइतबार बिहान बूढीगण्डकीमा बाढी आएपछि न्याकफेदीमा बस्दै आएका स्थानीयलगायत सुरक्षाका लागि भिरमा जानुभएको थियो। पाँच जना विदेशी नागरिक र तीन जना नेपाली नागरिकको उद्धार भएको फुर्बु साङ्बोले जानकारी दिनुभयो।
बुढीगण्डकी नदीमा आएको बाढीबाट ज्यान जोगाएर फर्किएकी फुर्बु साङ्बोको टोलीलाई नेपाली सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेर काठमाडौं ल्याइएको हो।
फुर्बुका अनुसार बिहान करिब ३ बजेतिर आफूहरू बसेको होटलनजिकै भूकम्प आएजस्तै ठूलो हलचल भएको थियो।
त्यसपछि पानीका छिटा र माटो होटलनजिकै आउन थालेपछि उनीसहित होटलमा रहेका पर्यटकहरू ज्यान जोगाउन डाँडातर्फ भाग्नुभएको थियो।
‘अँध्यारोमा मोबाइलको बत्ती बालेर भिरैभिर भएको बाटो हुँदै माथि चढ्यौँ। बाटो देखिँदैनथ्यो। उज्यालो भएपछि मात्रै हामी कति माथि पुगेका रहेछौँ भन्ने थाहा भयो,’ फुर्बुले भन्नुभयो।
उनका अनुसार बुढीगण्डकीको बहाव केही समय अवरुद्ध भएजस्तो भएको थियो।
त्यसपछि खोलामा पानी जम्ने र खुल्ने क्रम देखिएको थियो। वरिपरिबाट पहाड भत्किएजस्तो आवाज आएपछि आफू निकै डराएको उहाँले बताउनुभयो।
होटलमा पोल्यान्डका पाँच पर्यटकसहित उनीहरूका गाइड र सहायक गाइड पनि हुनुहुन्थ्यो। सुरुमा सबैजना सँगै बाहिर निस्किए पनि पछि कोही माथि र कोही तलतिर लाग्नुभएको थियो।
अँध्यारोमा झाडी समात्दै पहाड चढ्ने क्रममा आफ्नो हात र खुट्टामा चोट लागेको उहाँले बताउनुभयो। उज्यालो भएपछि मात्रै घाउबाट रगत बगिरहेको थाहा पाएको उहाँको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







