बाढीमा आफू बाँच्ने आश थिएन तर अरूलाई बचाउन भने ‘भाग भाग’ भन्दै भिडियो बनाए विशालले

गहिरो निद्रामा थिए विशाल घले। एक्कासि फोनको घण्टी बज्यो। फोन उठाउँदा उताबाट आवाज आयो, ‘दाइ, यहाँ ठूलो बाढी आएको छ, भाग्नुस्, भाग्नुस्।’
फोन गर्ने व्यक्ति थिए कान्छा गुरुङ (अयुब गुरुङ)। केही दिनअघि घलेले गुरूङलाई चिनेका थिएनन्, तर गुरूङले उनलाई दुई हजार रुपैयाँ सापटी दिएका थिए। त्यही कारोबारका कारण मोबाइलमा नम्बर सुरक्षित थियो। त्यही नम्बरबाट आएको फोनले घलेलाई सम्भावित विपद्बाट जोगाएको उहाँ बताउनुभयो।
‘त्यसपछि हामी लुगा मात्रै लगाएर बाहिर निस्किहाल्यौँ,’ घलेले सुनाउनुभयो, ‘घरबाट निस्किएको तीन–चार मिनेटमै बाढी आइपुग्यो।’
गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले जगतबगर क्षेत्रलाई तहसनहस बनायो। तर, बाढी आइपुग्नुअघि घलेले दिएको सूचना धेरैका लागि जीवन बचाउने सन्देश बन्यो।
मनास्लु हिमाल जाने बाटोमा पर्ने जगतबगरमा होटल चलाउँदै आएका विशालले आफू जोगिएर मात्रै पुग्दैन भन्ने ठान्नुभयो। आफूभन्दा तल रहेका बस्तीका मानिसलाई पनि सतर्क गराउनुपर्ने सोच्नुभयो। त्यसैले उनले फेसबुकमा ‘भाग भाग’ भन्दै भिडियो राखेको बताउनुभयो।
विशालले भन्नुभयो, ‘मलाई त पक्कै पनि बाँच्दिनँ होला जस्तो लागेको थियो। तैपनि म नबाँचे पनि मभन्दा तलका बस्तीका मानिसलाई बचाउन सक्छु होला भनेर ‘भाग भाग’ भन्ने भिडियो हालेको हुँ।’
उनका अनुसार आरुघाट, माछाखोला, आर्खेत र दोभान क्षेत्रका बासिन्दाले ठूलो बाढी आउन सक्ने भन्दै आफूलाई पहिले नै सूचना दिन आग्रह गरेका थिए। त्यसैले जोखिमबीच पनि उनले भिडियो बनाएर सूचना फैलाउने निर्णय गर्नुभयो।
भिडियो सार्वजनिक भएपछि धेरैले फोन र सन्देशमार्फत आफ्नो सूचनाले ज्यान जोगाउन सहयोग पुगेको बताएको विशालले सुनाउनुभयो।
तर, अरूलाई जोगाउन सूचना फैलाएका विशाल आफैंले भने आफ्नो जीवनभरको कमाइ गुमाउनुभएको छ।
जगतबगरमा उहाँले २०६५ सालदेखि सानो व्यवसायबाट होटल सुरु गर्नुभएको थियो। विस्तारै व्यवसाय बढाउँदै लगेका उहाँले होटलमा १८ वटा कोठा बनाउनुभएको थियो। तर, बाढीले अहिले होटलको नामोनिसानसमेत बाँकी नराखेको उहाँले बताउनुभयो।
होटलसँगै उहाँका दुईवटा मोटरसाइकल, नगद र दशैंका लागि बिक्री गर्न ल्याएका सामानसमेत बगेका छन्। विशालका अनुसार करिब ६० देखि ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
होटल चलाएर श्रीमती र छोरासँगै नेपालमै केही गर्ने सपना देखेका विशाललाई अहिले फेरि कसरी सुरु गर्ने भन्ने चिन्ताले सताएको छ।
‘नेपालमै केही गर्छु भनेर बसेको मान्छे हुँ। मेरो छोरा र श्रीमतीसँग मिलेर होटल चलाइरहेका थियौं। अब त सबै बग्यो। फेरि सुरु गर्ने मन त छ, तर मसँग केही छैन। कहाँबाट सुरु गर्ने भन्ने सोचिरहेको छु,’ उहाँले भन्नुभयो।
बाढीले जगतबगरका अन्य घर तथा संरचनामा पनि क्षति पुर्याएको छ। विशालका अनुसार त्यहाँ करिब १८ देखि २० वटा घर रहेको क्षेत्रमा ठूलो क्षति भएको छ।
विशालले आफ्नो सम्पत्ति गुमाउनुभयो। तर, बाढी आउँदै गरेको खबर अरूसम्म पुर्याउने उनको प्रयासले धेरैलाई समयमै सतर्क हुन मद्दत गर्यो। अहिले उनी आफैँलाई फेरि उभिन सहयोग चाहिएको छ।
आफू बाँच्ने आशा कम देख्दादेख्दै पनि अरूलाई बचाउनुपर्छ भन्ने विशालको निर्णयले विपद्का बेला एउटा सानो सूचना कति महत्त्वपूर्ण हुन सक्छ भन्ने देखाएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







