अस्ट्रेलियामा अनलाइन प्रेमको जालमा परेर पाँच वर्षमा १९ अर्ब रुपैयाँ ठगी
अस्ट्रेलियामा अनलाइनबाट नक्कली प्रेमको जालमा पारेर पाँच वर्षमा १८ करोड ३४ लाख अस्ट्रेलियन डलर ठगी भएको छ। जुन नेपाली रुपैयाँमा करिब १९ अर्ब ५० करोड रुपैयाँ हुन्छ।
सन् २०२१ देखि २०२५ सम्मको तथ्यांकअनुसार ४५ वर्षमाथिका महिला तथा पुरुषलाई लक्षित गरी यस्तो ठगी गरिएको हो।
स्क्याम वाचमा यस अवधिमा प्रेमसम्बन्धी ठगीका करिब साढे सात हजार घटना दर्ता भएका छन्। तीमध्ये ६३ प्रतिशत पीडित महिला र ३७ प्रतिशत पुरुष रहेको तथ्यांकले देखाएको छ।
ठगहरूले सामाजिक सञ्जाल, इमेल, टेक्स्ट म्यासेज र अन्य अनलाइन माध्यमबाट पीडितसँग सम्पर्क गर्छन्। आकर्षक तस्बिर र नक्कली परिचय प्रयोग गरी प्रेम सम्बन्ध स्थापित गर्ने र विश्वास जितेपछि पैसा माग्ने उनीहरूको सामान्य तरिका हो।
कहिले भेट्न आउन भन्दै यात्रा खर्च माग्ने त कहिले किनमेल वा अन्य व्यक्तिगत समस्याको बहाना बनाउने गरिन्छ। प्रेम सम्बन्ध साँचो भएको विश्वासमा पीडितले पटकपटक पैसा पठाउँदा ठूलो रकम गुमाउने गरेका छन्।
विशेषगरी एकल महिला तथा पुरुषलाई यस्तो ठगीमा निशाना बनाइने गरेको छ। तर, अनलाइनमा बनेको सम्बन्धमा पैसा माग्नेबित्तिकै विश्वास गरिहाल्नु जोखिमपूर्ण हुन सक्छ।
यस्ता ठगी नियन्त्रण गर्न अस्ट्रेलियाका सम्बन्धित निकायले जनचेतनामूलक सूचना तथा कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
अस्ट्रेलियामा रहेका नेपालीले पनि अनलाइनमा अपरिचित व्यक्तिसँग सम्बन्ध गाँस्दा सावधानी अपनाउन आवश्यक छ। प्रेमको नाममा पैसा माग्ने, व्यक्तिगत वा बैंकिङ विवरण माग्ने तथा तत्काल पैसा पठाउन दबाब दिने व्यक्तिबाट सतर्क रहनुपर्छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





