अस्ट्रेलियामा महँगी बढेर ४.३ प्रतिशत पुगेको रिपोर्ट, अब ब्याजदर के होला?
अस्ट्रेलियामा सेप्टेम्बरसम्मको १२ महिनामा वार्षिक मुद्रास्फीति दर अपेक्षाभन्दा बढी बढेर ४.३ प्रतिशत पुगेको रिपोर्ट सार्वजनिक भएको छ।
अस्ट्रेलियाको तथ्याङ्क विभाग (एबिएस) का अनुसार अगस्टमा मुद्रास्फीति दर ४ प्रतिशत थियो भने जुलाईमा ३.५ प्रतिशत रहेको थियो।
महँगी बढ्नुले दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्यमा दबाब कायमै रहेको संकेत गर्छ। विशेषगरी घरभाडा, खाद्यान्न र अन्य अत्यावश्यक खर्च धानिरहेका परिवारका लागि यो चिन्ताको विषय हो।
तर यसको अर्को पक्ष पनि छ।
महँगी बढे पनि सबै वस्तुको मूल्य एउटै दरमा बढेको हुँदैन। साथै, मुद्रास्फीति बढ्नुको अर्थ सबै वस्तुको मूल्य तत्काल ४.३ प्रतिशतले बढेको भन्ने पनि होइन।
यसैबीच, अस्ट्रेलियाको केन्द्रीय बैंकले सेप्टेम्बर २९ मा आधिकारिक ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर ४.६० प्रतिशत पुर्याएको थियो।
बैंकले महँगी नियन्त्रणमा चुनौती कायम रहेको र विश्वव्यापी ऊर्जा मूल्य तथा घरेलु उत्पादन लागतको दबाब बढेको जनाएको थियो।
नयाँ मुद्रास्फीति तथ्याङ्कसँगै आगामी नोभेम्बर ३ मा हुने रिजर्भ बैंकको बैठकमा ब्याजदर पुनः बढ्न सक्ने सम्भावनाबारे चर्चा बढेको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…

