अस्ट्रेलियामा सामाजिक सञ्जालको एल्गोरिदम प्रयोगकर्ताकै नियन्त्रणमा राख्ने विधेयक तल्लो सदनबाट पारित

अस्ट्रेलियामा सामाजिक सञ्जालको एल्गोरिदम प्रयोगकर्ताले नै नियन्त्रण गर्न पाउने व्यवस्था समेटिएको नयाँ विधेयक संसदको तल्लो सदनबाट पारित भएको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजी नेतृत्वको सरकारले अघि सारेको ‘डिजिटल ड्युटी अफ केयर’ विधेयकअनुसार १६ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्ताले सामाजिक सञ्जालमा आफूले हेर्ने सामग्री छनोट गर्न पाउनेछन्।
यस व्यवस्थाअन्तर्गत फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालमा एल्गोरिदमले सिफारिस गर्ने सामग्री हेर्ने वा आफूले फलो गरेका व्यक्ति र पेजका सामग्री मात्रै हेर्ने भन्ने निर्णय प्रयोगकर्ताले गर्न सक्नेछन्।
‘माई फिड, माई वे’ नाम दिइएको यो पहलले सामाजिक सञ्जालमा प्रयोगकर्ताको नियन्त्रण र अधिकार बढाउने सरकारको उद्देश्य छ।
विधेयकमा नियम उल्लङ्घन गर्ने टेक कम्पनीलाई अधिकतम १० करोड ९२ लाख अस्ट्रेलियन डलरसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
यसका साथै अनलाइन प्लेटफर्महरूले बालबालिका तथा किशोरकिशोरीलाई हानिकारक सामग्रीबाट जोगाउनुपर्नेछ। साइबर बुलिङ तथा अनलाइन दुर्व्यवहारसम्बन्धी उजुरीमा प्रतिक्रिया दिने समय ४८ घण्टाबाट घटाएर २४ घण्टा बनाउने व्यवस्था पनि विधेयकमा समेटिएको छ।
प्रधानमन्त्री अल्बानिजीले यो व्यवस्था सामाजिक सञ्जालमा सरकारी नियन्त्रण बढाउन नभई प्रयोगकर्तालाई आफूले हेर्ने सामग्री छनोट गर्ने अधिकार दिन ल्याइएको बताउनु भएको छ।
यद्यपि, विधेयक तल्लो सदनबाट पारित भए पनि कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित भई आवश्यक कानुनी प्रक्रिया पूरा हुन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…
