Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews‘खानबस्न समस्या भए आफ्नै देश फर्क’- विद्यार्थीलाई अष्ट्रेलियन प्रधानमन्त्रीको सुझाव

‘खानबस्न समस्या भए आफ्नै देश फर्क’- विद्यार्थीलाई अष्ट्रेलियन प्रधानमन्त्रीको सुझाव


ब्रिजवेन
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक वर्षभित्र आएका अन्तराष्ट्रिय विद्यार्थीलाई खानबस्न समस्या भए आफ्नै देश फर्कन सुझाव दिएका छन् ।
शुक्रबारको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले कोरोनाका कारण अन्तराष्ट्रिय विद्यार्थीहरु प्रभावित भएका छन् । उनीहरुका लागि सरकारले केही राहत प्याकेज बनाएको छ त ? भन्ने प्रश्नमा उत्तर दिदै प्रधानमन्त्रीले यस्तो सुझाव दिएका हुन् ।
प्रधानमन्त्री मोरिसनले भने- ”अन्तराष्ट्रिय विद्यार्थीले आफ्नो पढाईको पहिलो १२ महिना खाना, बस्न र कलेज शुल्कका लागि आफै व्यवस्था गर्छु भनेर ग्यारेन्टी गरेका हुन्छन् । यो विद्यार्थी भिषाको सर्त पनि हो । त्यसैले अष्ट्रेलियन सरकारले विद्यार्थीले पहिलो १२ महिनासम्म आफैले आफ्नो खर्च धान्न सक्छ भनेर अपेक्षा गर्नु अतियुक्ती नहोला ।” 
त्यसैले विद्यार्थी भिषा र अन्य विभिन्न भिषामा रहेका विदेशी नागरिकहरु आफ्नो सरकारको अनिवार्य सहायता सुचीमा नरहेको समेत प्रधानमन्त्री मोरिसनले स्पष्ट पारे । तर, अन्तराष्ट्रिय विद्यार्थीलाई सहज होस् भनेर नर्सिङ विद्यार्थीको काम गर्ने समय सिमा हटाइएको समेत प्रधानमन्त्रीको भनाई थियो ।
कोरोनाका कारण अष्ट्रेलियामा विद्यार्थी पढाउने थुप्रै देशहरु लकडाउनमा छन् । यस्तो अवस्थामा अष्ट्रेलियामा विद्यार्थीले समस्या भोगेमा ती राष्ट्रले आफ्ना नागरिकलाई विशेष उडान मार्फत फिर्ता गर्नुको अर्को विकल्प छैन । तर, अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिकलाई छोड्न अष्ट्रेलिया आएको नेपाली विमान रित्तै फर्किएकाले नेपाल सरकारले यहा विद्यार्थी समस्यामा परिहाले पनि विमान पठाएर उद्धार गरिहाल्ला त भन्ने शंका उब्जिएको छ ।
‘अहिलेको प्राथमिकता भनेको अष्ट्रेलियन नागरिक र पिआरवाला हो’- भन्दै उनले थपे- ‘त्यसैले अहिले हामी आफ्ना नागरिक र पिआरवालालाई कसरी थप आर्थिक सहायता बढाउन सकिन्छ भनेर लागिरहेका छौ ।’
पर्यटक भिषामा रहेका विदेशीहरु अधिकांश फर्किसकेको भन्दै प्रधानमन्त्री मोरिसनले बाकी रहेकाहरुलाई पनि क्रमिक रुपमा स्वदेश फर्कन आग्रह गरे । उनले भने -”समय राम्रो हुदा तपाईहरु अष्ट्रेलिया आउनुभयो, तर अहिले परिस्थिती अर्कै छ ।”
अष्ट्रेलियामा हाल ५ लाखभन्दा बढी अन्तराष्ट्रिय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । जसमा ५५ हजार त नेपाली विद्यार्थी छन् । नेपाली अष्ट्रेलियामा विद्यार्थी पढाउने देशहरुमा तेस्रो नम्बरमा पर्छ ।
कोरोना भाइरसका कारण अष्ट्रेलियामा आशिंक लक डाउन हुदा थुप्रै विद्यार्थीले जागिर गुमाएका छन् । भर्खरै आएका नेपाली विद्यार्थीलाई सहायता गर्न गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले ३० दिनसम्म दाल चामलको व्यवस्था गरिरहेको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ