Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरुसी खोपको पहिलो प्रतिवेदन सार्वजनिक, सकारात्मक प्रभाव रहेको दाबी

रुसी खोपको पहिलो प्रतिवेदन सार्वजनिक, सकारात्मक प्रभाव रहेको दाबी


काठमाडौं,एजेन्सी । रुसका वैज्ञानिकहरुले आफूहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्रतिवेदन सार्वजनिक गर्दै खोपले प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्ने दाबी गरेका छन् । मेडिकल जर्नल द लानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा खोप दिइएका व्यक्तिको शरीरमा कोरोना भाइरससँग लड्नका लागि प्रतिरक्षा प्रणाली विकास भएको र खोपको गम्भीर साइड इफेक्ट नदेखिएको उल्लेख गरिएको छ ।

रुसले स्थानीय स्तरमा खोपको प्रयोगका लागि अगस्टमा स्वीकृति दिएको थियो । अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुनु पूर्व नै खोपको प्रयोगका लागि स्वीकृति दिने रुस विश्वकै पहिलो देश हो । रुसले खोपको प्रयोगलाई स्वीकृति दिएपनि विज्ञहरुले प्रभावकारिता तथा सुरक्षित भए नभएको वृहत तहको परीक्षण बिनै प्रयोग थालिँदा जोखिम उत्पन्न हुने भन्दै चासो र चिन्ता व्यक्त गर्दै आएका थिए । प्रारम्भीक परीक्षणको नतिजा सार्वजनिक गरेर रुसले आलोचकलाई जवाफ दिएको आँकलन गरिएको छ । गएको महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोपको विकासको क्रममा सबै प्रक्रिया पूरा गरेको र आफ्नी छोरीले समेत सो खोप लगाएको सार्वजनिक गरेका थिए ।

कुनै पनि नयाँ खोप बन्नका लागि वर्षौँ लाग्ने भए पनि कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विश्वभरका वैज्ञानिकले तीव्र गतिमा काम गरिरहेका छन् । खोपको स्वीकृतिका लागि तीन चरणको परीक्षण हुनु पर्ने भए पनि रुस सहित अधिकांश देशले प्रक्रिया पुरा नगर्दै प्रयोगको थालनी समेत गरेका छन् । विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित ३३ खोपहरु मानवीय परीक्षणको चरणमा रहेको र अरु १४३ वटा खोपहरु मानवीय परीक्षण पूर्वको तहमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ