Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्नैपर्ने पाँच खबर

नेपाल अपडेट : पढ्नैपर्ने पाँच खबर


काठमाडौं । विभिन्न सञ्चारमाध्यममा प्राथमिकतासँगै नेपालमा चर्चा बटुलेका प्रमुख पाँच खबर यस्ता छन् ।

किशोरी बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ
१५ वर्षीया किशोरीलाई बलात्कार गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा प्रहरी जवान सुशील सिंह पक्राउ परेका छन् । कात्तिक १३ गते राति बालिकाको कोठामै गएर बलात्कार गरी उनकै दुपट्टाले घाँटी कसेर हत्या गर्न खोजेको जाहेरीका आधारमा डोटी जोरायल गाउँपालिका–५ को गडसेरा अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान सिंह पक्राउ परेका हुन् । घटनाको जाहेरी दर्ता भएपछि सोमबार १२ बजेतिर फरार भएका उनलाई मंगलबार बिहान २ बजेतिर कैलालीको सहजपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले दोषी जो कोही भएपनि कानुन अनुसार कडा कारवाही हुने बताउनुभयो ।

अस्थायी प्रहरी पोष्ट गडसेराका ईन्चार्ज प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भण्डारीले भने हत्या प्रयास नभई बालिकाले आत्महत्या प्रयास गरेको दाबी गरेका छन् । वालिका र आरोपीबिच प्रेम सम्बन्ध रहेको, दुई÷तीन पटक शारीरिक सम्बन्ध समेत भइसकेको भण्डारीको जिकिर छ । भण्डारीले बालिका नजिकैको रुखमा झुण्डिएको अवस्थामाउनका बुवाले देखेपछि प्लाष्टिकको डोरी उनैले काटेको प्रमाण आफुहरुसँग भएको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय गएर किशोरीको परिवारले जवरजस्ती करणी र ज्यान मार्ने उद्योगमा जाहेरी दिएको बारे भण्डारी अचम्बित भएका छन् ।

अनुदानको चामल हिनामिना गर्ने पक्राउ
कर्णालीका दुर्गम ठाउँमा पठाउने सरकारी अनुदानको चामल भक्तपुर लैजाने ढुवानीकर्ता प्रहरीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई मंगलबार बिहान पक्राउ गरिएको जानकारी दिनुभएको हो । कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट शर्माले मुगुका लागि भनेर गत साता चामल उठाएका थिए । तर, उक्त चामल मुगु नपठाई उनले भक्तपुरका लागि पठाउनेक्रममा वीरेन्द्रनगरको सुब्बाकुना नाकाबाट ना६ख ५७२१ नम्बरको ट्रकसहित चामल प्रहरीले ििनयन्त्रणमा लिएको थियो । वीरेन्द्रगरको दुर्गाभगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाइ कर्णालीका लागि अनुदानमा आएको २५० क्विन्टल चामल पठाएको पाइएको छ । दुर्गाभगवती सप्लायर्स शर्मा स्वामित्वको फर्म हो । प्रहरीले चामल नियन्त्रणमा लिएलगतै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गएका थिएनन् । पछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फरार हुनुभन्दा अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न सन्देश पठाएपछि शर्मा मंगलबार जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका थिए । ।

दीर्घकालीन सम्बन्ध सुदृढ गर्न नेपाल भ्रमण : भारतीय नेताध्यक्ष
भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपालीसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न नेपाल भ्रमण गर्न लागेको बताउनुभएको छ । भारतको समाचार एजेन्सी एएनआईलाई मंगलबार प्रतिक्रिया दिदैँ सेनाध्यक्ष नरभणेले नेपालसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न नै भ्रमण गर्न लागेको बताउनुभएको हो । नरभणेले बुधबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमण गर्दैहुनुहुन्छ । दुई देशका सेनाबीचको सम्बन्ध र मित्रता थप सुदृढ गर्न भ्रमण गर्ने दाबी गर्नुभएका उहाँले नेपालका प्रधानमन्त्रीसँग भेट्ने अवसरका लागि आभार प्रकट गर्नुभएको छ । भैमणकै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी पदबाट विभूषित हुन पाउनु पनि ठूलो सम्मान भएको भारतीय सेनाध्यक्ष नरभणेले बताउनुभयो ।

कोरोना बिमाको भुक्तानी ७ दिनभित्र दिन निर्देशन
कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन भन्दै नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासोपछि समितिले यस्तो निर्देशन दिएको हो । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जतिसक्दो चाडो भुक्तानी हुने व्यवस्था मिलाउन बिमा समितिका अध्यक्षलाई निर्देशन दिनुभएका थियो । अर्थमन्त्रीको संयोजकत्वमा बसेको बैठकले समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय समेत गरेको थियो ।

कोरोना बिमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बिमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बिमा समितिले तत्काल मिलाउने निर्णय समेत भएको छ । बिमा समितिले ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो । सामूहिक बिमा गर्दा भने बिमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । यतिबेला धेरै बिमितहरुले कोरोना विमाको भुक्तानीमा समस्या भएको गुनासो गरिरहँदा धेरैमा कोरोना लागेपछि बिमा कम्पनीहरु नै अर्बै भुक्तानी दिनबाट आत्तिएका छन् ।

नेपालमा कोरोना कहर
पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट ३ हजार १४२ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ