Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर

नेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर


काठमाडौं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल आन्तरिक किचलोमा रुमलिएको नेपालमा कोरोनाको जोखिम समेत टरेको छैन । स्वास्थ्य सेवाको सुधार, पर्यटन पुर्वाधारको विकास, स्थानीय तहको बजेटमा ढिलाई लगायतका प्रमुख पाँच खबर यस्ता छन् ।

अझै ३७ स्थानीय तहको बजेट आएन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७–७८ को बजेट पेस नगरेको पाइएको छ । मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभएको हो । गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्य रूपमा बजेट मन्त्रालयमा पेस गर्नुपर्ने प्रावधान छ । प्रदेश नं २ मा १३६ स्थानीय तहमध्ये १०४ ले मात्र विवरण पेस गरेका छन् भने ३२ स्थानीय तहले अझै पेस गरेका छैनन् । यस्तै बजेट पेस नगर्नेमा प्रदेश नंं १ का दुई, वाग्मती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तह रहेका छन् । प्रदेश नंं १ का भोटखोला गाउँपालिका सङ्खुवासभा र मेन्छयायेम गाउँपालिका तेह्रथुम, बाग्मती प्रदेशको लिखु तामाकोशी गाउँपालिका रामेछाप र आमाछोदिङमो गाउँपालिका रसुवा, सुदूरपश्चिम प्रदेशको बूढीगङ्गा नगरपालिका बाजुरा रहेका छन् । कानुनअनुसार सबै स्थानीय तहले गत असार १० गतेभित्र बजेट पारित गर्नुपर्ने व्यवस्था छ ।

बंगलादेशमा नेपाली फुटबल टोली अभ्यासमा
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली टोलीले आइतबारबाट अभ्यास खेल सुरु गर्ने भएको छ । बंगलादेशमा सबै नेपाली खेलाडीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु अभ्यासमा जुट्ने भएका हुन् । शुक्रबार भएको कोरोना जाँचको रिपोर्ट शनिबार बेलुकी आएको थियो । कोरोनाको नतिजा आएसँगै नेपाली टोलीले आइतबार बेलुकादेखि अभ्यास सुरु गर्नेछ । अभ्यास कुन मैदानमा हुने भन्ने एकिन भएको छैन । बंगलादेश जानु अगाडि ७ जना खेलाडीलाई कोरोना देखिएको थियो । कोरोना संक्रमण देखिएका खेलाडीहरु काठमाडौंमा आईसोलेसनमा छन् । नेपालले बंगलादेशसँग १३ र १७ नोभेम्बरमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । झण्डै १ वर्षपछि नेपाललले अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

अझै रोकिएन कोरोना कहर
पछिल्लो २४ घण्टामा २ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या नै ३५ हजार ४३५ पुगेको छ । देशका विभिन्न अस्पतालबाट २ हजार २०६ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै यसरी ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ ।

झापाको विएण्डसी अस्पतालमा क्याथल्याव सेवा
झापाको बिर्तामोडस्थित विएण्डसी अस्पतालले मुटुका रोगीका लागि क्याथल्याव सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर क्याथल्याव सेवा सञ्चालनमा ल्याएको जानकारी गराएको हो । मुटु रोगीहरुलाई सहज र गुणस्तरीय सेवा दिने उदेश्यले क्याथ ल्याव सेवा सञ्चालनमा ल्याइएको अस्पतालका कार्डियोलोजिष्ट डा. उमेश यादवले जानकारी दिनुभयो । अस्पतालले आगामी २ बर्ष भित्र मुटु समेत प्रत्यारोपण गर्नेगरीको तयारी थालेको जानकारी दिएकोछ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अब मुटुका विरामीले उपचारका लागि भारतको दिल्ली, बैंगलोर र काठमाडौं धाउनुपर्ने बाध्यता छिट्टै हट्ने बताउनुभयो । अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उमेश यादव सहितको टोलीले सेवा प्रदान गर्ने र आजबाट सेवा समेत सुचारु भएको जानकारी गराए । कार्यक्रममा भारतको चेन्नईबाट आएका मुटुरोग विशेषज्ञ डा. अवनकुमार, हस्पिटलका मेडिकल डाइरेक्टर निराजन पराजुली, हस्पिटलकी अध्यक्ष इन्दिरा गिरी लगायतले अस्पतालले प्रदान गर्ने सेवाको विषयमा जानकारी गराएका थिए ।

कोरोनाको कहरमा पर्यटक बसको सेवा
देश दर्शन बस सेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच पर्यटक बस सेवा सुरु गरेको छ । देश दर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा सेवा सुरु गरेको हो । देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्रि पर्यटक बस सेवा दिने गरी सुरु गरिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले जानकारी दिए । देशका मुख्यमुख्य पर्यटकीय स्थललाई लक्षित गरेर सञ्चालित पसले काठमाडौं–पोखरा, काठमाडौं–जनकपुर, काठमाडौं–वीरगन्ज, काठमाडौं–लुम्बिनी, काठमाडौं–चितवन र चितवन–पोखरामा रुटमा आन्तरिक तथा बाह्य पर्यटक बोक्नेछन् । पर्यटन बस सञ्चालनमा आएसँगै आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने भन्दै गुरागाईंले नयाँ गन्तव्यमा पर्यटन बस सञ्चालन गर्न सरकारी स्तरबाटै सहयोग हुनुपर्ने बताए । सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गरिने बसको यात्रामा एक सातासम्म काठमाडौंदेखि देशका विभिन्न स्थानमा जाँदा भाडादरमा ५० प्रतिशत छुट र काठमाडौं भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ