Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजुवाको दलदलमा अष्ट्रेलियाका नेपाली । छुटाउन आज अनलाइन प्रशिक्षण

जुवाको दलदलमा अष्ट्रेलियाका नेपाली । छुटाउन आज अनलाइन प्रशिक्षण


सिड्नी
अष्ट्रेलियाको नेपाली समाजमा जुवाको लत भुसको आगोसरी फैलिएको छ । टोलटोलमा खुलेका पोकर मेसिनदेखि क्यासिनो र सट्टेबाजी (बेट) को लतमा फसेर धेरै नेपाली घर न घाटको भएका छन् ।
खासगरी पढ्न आएका २०-२२ वर्षका नेपाली युवाहरुमा जुवाको लत विकराल छ । जुवामा लाखौ रुपैया हारेपछि कलेजको फि तिर्न नसक्ने, सिओइ रद्ध भएर पढाई बिगार्ने, घर परिवारको सम्पर्कमा नबस्ने, साथीभाईसंग पैसा सापट लिएर नतिर्ने जस्ता समस्या बढ्न थालेको पाइन्छ । जुवाको लतमा मोटो रकम हारेर मानसिक तनावमा पुग्ने र ज्यानै लिनेसम्मको घटना नेपाली समुदायमा हुन थालेको नेपाली अष्ट्रेलियन युथ एशोसियसन नयाका अध्यक्ष प्रकाश अर्यालले बताउनुभयो । ‘पोकरमा पैसा हारेर केही उपाय नेदेखेपछि ज्यानै फाल्ने घटना बढ्न थालेको छ’- अर्यालले भन्नुभयो -‘सन् २००८ देखि मैले नै चारपाच वटा घटना देखिसकेको छु ।’

न्यु साउथ वेल्स सरकारले प्रशिक्षण दिदै

नेपाली विद्यार्थीमा जुवाको लत फैलिएपछि न्युनिकरण गर्नका लागि नयाले अग्रसरता लिएको छ । नयाकै अनुरोधमा न्यु साउथ वेल्स सरकार जुवाको लतबाट छुटकारा लिन प्रशिक्षण दिने भएको छ । न्यु साउथ वेल्स सरकारका तर्फबाट जुवाबाट बच्ने उपायका जानकार सुसन छनले जुम अनलाईनबाट प्रशिक्षण दिन लाग्नुभएको नयाले जनाएको छ । बुधबार साझ सिड्नी समय अनुसार ६ बजे सुरु हुने अनलाईन प्रशिक्षण दुइ घण्टासम्म जारी रहनेछ । यो अवधीमा सहभागीले जुवा बारेका तथ्य तथा अन्धविश्वास, समुदायमा जुवाको अवस्था, जुवा समस्या बन्ने कारण तथा जुवाबाट छुटकारा पाउने उपायका बारेमा जानकारी पाउनेछन् ।
कार्यक्रममा जुवाको लतमा फसेकाहरु मात्रै नभई समाजका अगुवा तथा अन्य इच्छुकहरु पनि सहभागी हुन सक्ने नयाले जनाएको छ । जुवाको लतमा फसेकाहरुले जुम बैठकमा आफ्नो परिचय गोप्य राख्न सकिने व्यवस्था गरिएको छ । नेपाली समाजमा विकराल रुप लिदै गरेको जुवाको लतलाई न्युनिकरण गरेर स्वस्थ्य समाज निमार्णका लागि यो कार्यक्रम आयोजना भएकाले समाजका सबै तह र तप्काका सदस्यले भाग लिन नयाका अध्यक्ष अर्यालले अनुरोध गर्नुभएको छ ।
जुम बैठकमा सहयागी हुनका लागि यो लिंकमा गएर नाम टिपाउनुहोस् ।

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ