Thursday, 25 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा गर्मी लाग्यो । पानीबाट ज्यान जोगाउनुस है । जनचेतनाका लागि सेयर गरौं

अष्ट्रेलियामा गर्मी लाग्यो । पानीबाट ज्यान जोगाउनुस है । जनचेतनाका लागि सेयर गरौं


सरल गुरुङ/अष्ट्रेलिया
गर्मी लाग्ने बित्तिकै मेरो मन कटक्क खान्छ । मुटु नै चिसो हुन थाल्छ । आमा वुवाको सपना र लाखौं रुपैयाको ऋणको भारी बोकेर डाउनअण्डर उत्रिएका नेपाली युवाको जीवनलिला पानीसंगै बगेको टुलुटुलु हेर्न सक्ने कठोर हृदय छैन मेरो । तर, बिडम्बना मेरो मन कठोर नभएपनि अष्ट्रेलियाको पानी कठोर छ ।  यहि निष्ठुरी पानीमा वर्षेनी बढीमा ४-५ जना नेपालीले देह त्याग्न बाध्य छन् । भूपरिवेष्ठित राष्ट्रका हामी नेपालीलाई समुन्द्री छालको ज्ञान कहा हुन्छ र ? शहरतिर स्विमिङ पुलमा हाम फालेकै भरमा हामी समुन्द्रको छालसंग पौठेजोरी खेल्न खोज्छौ । तर, समुन्द्री छाल हाम्रो खोला, नदी र स्विमिङ जस्तो छैन है भन्ने कुराको झिनो जानकारी पनि हामीसंग छैन । त्यसैले त युवा जोश, नयाँ परिवेश अनि उखरमाउलो गर्मी भुल्न समुन्द्रमा हाम फाल्दा जीवन नै फालिने क्रम बढेको छ ।

पानीले नेपाली युवाको जीवन मात्रै लिदैन, उसंग जोडिएका हरेक व्यक्तिको सपना चकनाचुर पारिदिन्छ । अनि ठुलो जहाज चढ्न लिएको ऋणले बाचेका मानिसको नरनारी गलाउछ । कलकलाउदो जीवन पानीमा मिलेको समाचार लेख्दा मेरा हातहरु नकापेको घडी छैन ।

रोयल लाइफ सेभिङको पछिल्लो तथ्याकं अनुसार गत वर्ष अष्ट्रेलियाको पानीमा २ सय ९४ जनाले ज्यान गुमाएका छन् । ती मध्ये अधिकांश २५ देखि ३४ वर्षका युवा छन् । ८० प्रतिशत पुरुष छन् । ज्यान गुमाउनेको संख्या अघिल्लो वर्षको भन्दा २० प्रतिशतले बढी हो । वर्षेर्नी समुन्द्री तट, खोला, नदी, तलाउ र तालमा गरि झण्डै ७ सय ५२ वटा भन्दा बढी पानी सम्बन्धी घटना घट्ने गरेको तथ्यांकले देखाउछ । जसमा बहुसास्कृति समुदाय र अन्तराष्ट्रिय विद्यार्थीको संख्या पनि उत्तिकै छ । गर्मीयाम सुरु भएसंगै समुन्द्री तटमा मानिसहरुको घुइचो लाग्छ । समुन्द्रको पानीबारे ज्ञान र अनुभव नहुने नेपाली विद्यार्थीहरुको ज्यान जोखिममा पर्ने गर्छ ।

रिप करेन्टले लिन्छ ज्यान

अष्ट्रेलियाको समुन्द्रमा देखिने रिप करेन्ट निकै खतरनाक हुन्छ । समुन्द्री छालसंगै खोलाको भेल जसरी आउने र उत्तिकै वेगमा समुन्द्रतिरै फर्किने यस्ता छालहरु निकै शक्तिशाली हुन्छन् । यसको वहावमा पर्नेहरुलाई छालले नै बगाएर समुन्द्रतिर लैजाने भएकाले पनि यो खतरनाक हुनसक्छ । यस्तो छालले अष्ट्रेलियामा वर्षेनी २१ जनाको ज्यान लिने सर्फ लाइभ सेभिङको तथ्याकंमा देखिन्छ ।

समुन्द्रको छाल गहिरो र गाढा निलो रंगको देखिएको छ भने त्यो रिप करेन्ट हुन सक्छ । त्यस्तै छाल अटुट रुपमा बग्नु, समुन्द्री किनारको छेउसम्मै खोला जस्तो देखियो भने पनि त्यो रिप करेन्ट हुनसक्छ । त्यस्तो देखेपछि त्यस क्षेत्रमा पौडी खेल्नु हुदैन । यदि पौडी खेल्दा खेल्दै रिप करेन्टमा परियो भने सबैभन्दा पहिले अत्तालिनु हुदैन । अनि हात उठाएर सहयोगका लागि संकेत गर्नुपर्छ । छालको बहाबसंगै बग्ने कोसिस गर्नुपर्छ, त्यसो गर्दा छालले तपाईलाई फेरी बालुवातिरै ल्यादिनसक्छ ।

समुन्द्रको पानीमा कसरी जोगिने ?

सबैभन्दा पहिला समुन्द्र मेरा लागि नयाँ विषय भन्ने कुरा मनन गर्नुहोस् । हामी स्विमिङ पुल र खोला र नदिमा पौडे खेलेजस्तो समुन्द्रको बहाबमा पौडी खेल्नु फरक हुन्छ भन्ने बुझौ र आत्मसाथ गरौ । यत्ति बुझिसकेपछि अब समुन्द्रमा पौडी खेल्ला रातो र पहेलो झण्डा गाडीको बिच भागमा मात्रै पौडी खेल्ने गरौं । सर्वसाधारणका लागि खुल्ला गरिएको अष्ट्रेलियाभरीकै समुन्द्री तहमा स्वयमसेवी लाइफगार्डहरु तैनाथ गरिएको हुन्छ ।

उनीहरुले पानी र छालको बहावको मुल्यांकन गरेर पौडी खेल्ने समय र स्थान चयन गर्छन् । पौडी खेल्न सुरक्षित स्थान पहिचान गरि रातो र पहेलो रंगको झण्डा गाडेपछि मात्रै पौडी खेल्न दिइन्छ । झण्डा ठडिएको समयभरी नै आखाले देख्ने गरी नै लाइफगार्डहरु तैनाथ भएर बसेका हुन्छन् । केही घटना भइहाले उनीहरुले तत्कालै उद्धार गर्छन् । त्यसैले आजदेखि समुन्द्रमा रातो र पहेलो झण्डा गाडिएको बिच भागमा मात्रै पौडी खेल्ने गरौ ।

मदिरा वा लागुऔषध सेवन नगरौं ।

मदिरा सेवन गरेर पौडी खेल्ने काम बन्द गरौं । मदिराले हाम्रो दिगाखलाई बढी चलायमान बनाउछ । अनावश्यक उत्साह दिएर जोखिम मोल्न हौसाउने गर्छ । पानीमा हौसिएर पौडी खेल्दा दुर्घटना हुन सक्छ । त्यसैले पौडी खेल्ने हो भने

नयाँ र अपरिचित स्थानमा पौडी नखेल्नुहोस् ।

सर्वसाधारणका लागि सुरक्षित रुपमा खुल्ला गरिएको स्थानमा लाइफगार्डहरु हुने तथा उनीहरुले सुरक्षाका लागि नियमित निरिक्षण गर्ने हुनाले त्यस्तो ठाउमा पौडी खेल्दा सुरक्षित हुन्छ । तर, यसको अलावा कुनै दुर्गम भेगको बिरानो ठाउको नदि, खोला, ताल, तलाउ र पोखरीहरुमा पौडी खेल्दा जोखिम बढ्न सक्छ । एक त त्यस्ता ठाउको पानी बारे तपाईलाई जानकारी हुदैन र केही दुर्घटना भइहाले तपाईलाई बचाउन आउने लाइफगार्ड पनि हुदैन । त्यसैले त्यस्ता स्थानमा कहिल्यै पौडी नखेल्नुहोस् ।

नेपाली विद्यार्थीलाई प्रशिक्षणको आवश्यकता

समुन्द्रमा नेपालीहरुको ज्यान जाने क्रम बढेपनि त्यसलाई कम गर्न चाहिए जति कदम लिन सकिएको छैन । हुन त, अष्ट्रेलियामा बहुसांस्कृतिक समुदाय, अन्तराष्ट्रिय विद्यार्थी र चाहाने संघसंस्था र व्यक्तिलाई निशुल्क समुन्द्र सुरक्षा सम्बन्धी तालिम र प्रशिक्षण दिने निकायहरु छन् । जस्तै सर्फ लाइफ सेभिङ र रोयल लाइफ सेभिङ जस्ता संस्थाले निशुल्क रुपमा त्यस्ता तालिमहरु दिने गर्छ । तर, हामीले त्यस्ता निकायसंग सहकार्य र पहुच पु¥याउन सकेका छैनौ ।

सिड्नीमा भिजन फर मोटिभेसन भन्ने संस्थाले सन् २०१८ देखि स्थानिय तामारामा सर्फ लाइभ सेभिङ क्लबसंग मिलेर हरेक वर्ष नेपाली विद्यार्थीलाई समुन्द्र सम्बन्धी तालिम दिदै आएको छ । अन्य राज्यहरुमा पनि यसको सुरुवात भएको छ । कुइन्सल्याण्डमा पनि हालको नयाँ कार्यसमितिले सर्फ लाइफ सेभिङसंग यस्तो तालिमका लागि सहकार्य गर्न पहल गरिरहेको छ । नेपालीको जीवनसंग जोडिएको यस्तो विषयलाई गैरआवासिय नेपाली संघ, अन्य सामाजिक संघसंस्था, दुतावास र महावाणिज्यदुतावासहरुले आफ्नो वार्षिक कार्यक्रमकै रुपमा अघि सार्नुपर्ने देखिन्छ । photo-Surf Life Saving Australia

समुन्द्रमा पौडी खेल्दा के कुरामा ध्यान दिने ? भिडियो रिपोर्ट



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ