Friday, 27 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalबीबीसीको जेन जि आन्दोलन बारेको डकुमेन्ट्रीले नेपालमा तरंग

बीबीसीको जेन जि आन्दोलन बारेको डकुमेन्ट्रीले नेपालमा तरंग

प्रहरीदेखि निर्वाचन आयोग सम्मको चासो


काठमाडौं । भदौ २३ र २४ को जेन जि आन्दोलन हिंसात्मक हुनुमा तत्कालीन आइजीपीलाई दोषी ठहर्याउने प्रयास गरिएको बीबीसीको डकुमेन्ट्रीमा सत्यता नभएको नेपाल प्रहरीले जनाएको छ ।

बीबीसीले डकुमेन्ट्रीको शीर्षकमै ‘सत्रुलाई जसरी गोली हानिएको’ भनेर सनसनी फैलाउने प्रयास गरेको बारे प्रहरीले सत्यता नभएको जनाएको हो । रिपोर्टमा उल्लेख गरिएको प्रहरी कलसाइन संवाद आधिकारिक नभएको दाबी गर्दै केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बीबीसीको डकुमेन्ट्रीमा सत्यता नभएको बताउनुभएको हो । विभिन्न भिडियो फुटेज विश्लेषण गरेको भनिएको डकुमेन्ट्री बारे जवाफ दिदै प्रहरी प्रवक्ता काफ्लेले प्रहरी बारेका तथ्य पुष्टि गर्ने कोशिश नै नगरिएको बताउनुभयो । पत्रकार सम्मेलन गरेर प्रहरीले  घटनाबारे सम्पूर्ण उपलब्ध तथ्य सार्वजनिक गरिसकेको अवस्थामा आफूखुशी कुनै रिपोर्ट वा डकुमेन्ट्री बनाइएकोप्रति टिप्पणी आवश्यक नहुने समेत प्रहरीले जनाएको छ । प्रहरी बारे अनावश्यक भ्रम छरिएका  कुनै पनि रिपोर्टलाई आधिकारिक नमान्न समेत अग्रह गरिएको छ ।

प्रहरी नेतृत्वमाथि नै अधिकांश दोष

यता, बेलायती सञ्चारमाध्यम बिबीसीको भिडियो फुटेजमै प्रदर्शनकारीहरु प्रहरीको ब्यारिकेट तोडेर संसद भवनतर्फ गएकाे देखिन्छ । संसद भवनको पर्खाल भत्काउने र गेटमा आगो लगाउने गरेपछि प्रहरीले टियर ग्यास र पानीको फोहोरा हानेको देखाइएको छ । आन्दोलनमा प्रदर्शनकारीहरु पछि नहटेपछि गोली चलेको थियो । प्रदर्शनको अग्रपंतिमा नरहेका केही युवाहरु पनि गोली लागेर ढलेको देखिन्छ । तर बीबीसीले गोली संसद भवनबाट ताकिताकि हानेको जिकिर भिडियो रिपोर्टमा गरिएको छ ।  बीबीसीले भदौ २३ मा गोली चल्नुमा तत्कालीन प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङलाई मुख्य जिम्मेवार देखाउन खोजेको छ । प्रहरीको आन्तरिक रिपोर्टको तथ्य भन्दै कलसाइन ‘पिटर १’ बाट गोली चलाउने आदेश आएको जनाइएको छ । पिटर १ कलसाइन तत्कालीन आइजीपीको भएको रिपोर्टमा उल्लेख गरिएको छ । फिल्डमा रहेका प्रहरीले पटक–पटक आदेश मागेपछि खापुङले कलसाइनबाट कफ्र्यू लागू भइसकेको अवस्थामा  अनुमति लिन आवश्यक नपर्ने,आवश्यक बल प्रयोग गर्नु भन्ने निर्देशन दिएकै आधारमा मुख्य जिम्मेवार भनेर आरोपित गरिएको छ ।

बीबीसीको ४१ मिनेट लामो डकुमेन्ट्रीमा जेन जि आन्दोलन हिंसात्मक बनेको बारे प्रहरी नेतृत्वको कमजोरी देखाइएको छ । राजनीतिक नेतृत्वको भूमिकाको विषयमा कुनै टिप्पणी गरिएको छैन । डकुमेन्ट्रीमा जेन जि आन्दोलका दुई दिनको घटनाक्रमका दुर्लभ फुटेजहरुसँगै केही नयाँ सूचनाहरु संग्रहित छन् ।

यसअघि निर्वाचन आयोगले समेत बीबीसीको डकुमेन्ट्री हटाउन नेपाल प्रेस काउन्सिलमा पत्राचार गरेको जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ