Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्यो रेमिट्यान्स आयात, प्रतिव्यक्ति साँढे ५७ हजार ऋण

नेपालमा बढ्यो रेमिट्यान्स आयात, प्रतिव्यक्ति साँढे ५७ हजार ऋण


काठमाडौं । विदेशी मुद्राको विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेर ९६१ अर्ब ५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेर ९६१ अर्ब ५ करोड पुगेको हो ।

यस्तो आप्रवाह अघिल्लो आर्थिक वर्षमा ०.५ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा अमेरिकी डलर विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

एक जना नेपालीको थाप्लोमा साँढे ५७ हजार ऋण
मुलुकको सार्वजनिक ऋण बढेर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बन्न पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको हो । जबकि हालको मुलुकको बजेटको आकार जम्मा साढे १४ खर्ब बराबरको मात्रै छ । राष्ट्र बैङ्कका अनुसार पछिल्लो तीन वर्षमा मुलुकको सार्वजनिक ऋण झण्डै ६५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकको सार्वजनिक ऋण जम्मा १० खर्ब ४७ अर्ब ५८ करोड मात्र रहेकोमा त्यसको ठिक तीन वर्षपछि आर्थिक वर्ष २०७७/७८ मा ऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको बैङ्कले जनाएको छ । जुन राष्ट्रिय आय (कुल गार्हस्थ्य उत्पादन) को अधिकतम ४०.५ प्रतिशत हो ।

२१.८ प्रतिशत अर्थात् ९ खर्ब २७ अर्ब ९३ करोड बाह्य अर्थात् वैदेशिक ऋण रहेको र बाँकी १८.८ प्रतिशत अर्थात् ८ खर्ब ३२ करोड आन्तरिक ऋण देखिएको छ । सार्वजनिक ऋणको भारलाई कुल नेपालीहरूको सङ्ख्यालाई तुलना गरेर हेर्ने हो भने एक नेपालीको भागमा साढे ५७ हजार रुपैयाँ पर्ने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ