Wednesday, 24 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleनेपालमा ह्वात्तै बढ्यो गर्मी, तातो हावा चल्दा तराईमा ‘लु’ को खतरा

नेपालमा ह्वात्तै बढ्यो गर्मी, तातो हावा चल्दा तराईमा ‘लु’ को खतरा

देशभरको डढेलोले प्रदुषण समेत बढ्याे


काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यका लगायत देशभर गर्मी बढ्दै गएको छ । गर्मी बढेसंगै तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्दा ‘लु’ को खतरा समेत बढेको छ ।

नेपालगञ्ज,दाङ,भैरहवा,नवलपुर,चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस गरिएको छ । लुम्बिनी तथा मधेश प्रदेशका भू–भागका थोरै स्थानहरूमा विगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भू–भागमा पछिल्लो एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ । बढ्दो गर्मीका कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु बढी प्रभावित भएका छन् । नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले सुझाव दिनुभएको छ ।

तातो हावासँगै देशका धेरै ठाउँमा डढेलोकाे जोखिम समेत देखिएको छ । वन तथा भू–संरक्षण विभागको डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार अहिले देशका दुई सय ८० वटाभन्दा धेरै ठाउँमा आगोलागी भैरहेको छ । मंगलबार एकैदिन देशका चार सय ७७ वटा ठाउँमा डढेलो लागेको छ । धेरै ठाउँमा डढेलो बस्तीमा पुग्दा कैयौँ घर जलेका छन् । यही वैशाख १ देखि मंगलबारसम्म ११ दिनमा देशका विभिन्न ठाउँका भएको आगलागीमा छ जना र डढेलोमा एक जना गरी सात जनाको ज्यान गएको छ । आगलागी र डढेलोबाट १० दिनमा १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । डढेलोविद् सुन्दर शर्माले नेपालमा धेरैजसो डढेलोका घटना मानवीय लापर्बाहीका कारण हुने भएकोले यो मौसममा आममानिस धेरै सचेत हुनुपर्ने बताउनुभएको छ । डढेलोका कारण देशभर वायु प्रदूषण पनि बढेको छ ।

गर्मीसँगै ‘लू’ बाट बच्न यस्ता छन विज्ञका सुझाव
नेपालमा ‘लू’ को अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् । यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्वतयारीको काम अहिलेदेखि नै शुरु गर्न सरकारलाई सुझाव दिइएको छ । धेरै देशहरूले गर्मीबाट बच्ने रणनीति बनाइसकेको उल्लेख गर्दै डा. उप्रेतीले नेपालले पनि मानव स्वास्थ्यसहित पशु स्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई मध्यनजर गरी ‘हिट एक्शन प्लान’ बनाउन जरुरी रहेको बताउनुभएको छ । गर्मीको बेला शरीरमा पानी मात्रा कमी हुँदा स्वास्थ्यमा समस्या देखिने र डिहाइड्रेशन समेत हुन सक्ने सम्भावना अत्यधिक हुन्छ । थकाइ लाग्ने,कमजोरी हुने,बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने आदि समस्या निम्तने भएकाले सावधानी अपनाउन विज्ञहरुको सुझाव छ ।

गर्मीको समयमा पानीसँगै पानीको मात्र प्रशस्त पाइने फलफूल र तरकारी खाने तथा प्रशस्त पानि पाइने फलफुल खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल खान विज्ञहरुको सुझाव छ । यस्तै, खेतबारीको काम सकभर बिहान र बेलुका मात्रै गर्न विज्ञहरुले आग्रह गरेका छन् । दाल,सुप जस्ता नुनिलो झोल पदार्थ पिउनाले शरिरलाई फाइदा हुनुका साथै यसले शरिरलाई डिहाइड्रेड हुनबाट बचाउँने चिकित्सकहरुको सुझाव छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ