Thursday, 16 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsछाती दुखेर हैरान हुनुहुन्छ, यस्ता समस्याहरु हुनसक्छन् !

छाती दुखेर हैरान हुनुहुन्छ, यस्ता समस्याहरु हुनसक्छन् !


काठमाडौं । हाम्रो छातीमा मुटु र फोक्सो दुई महत्वपूर्ण अंगहरु हुन्छन् । छाती दुख्नुमा कतिपयले मुटुकै कारण हो भन्ने ठानेका हुन्छन् । हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएर हो ठान्नु गलत हो । किन कि छातीको दुखाई विभिन्न कारणले हुन्छ । छातिको दुखाई हुनेहरुमध्ये १० प्रतिशतमा मात्रै मुटुको र लगभग ९० प्रतिशत मानिसमा छाती दुख्ने कारण मुटुरोग बाहेकको देखिने गरेको छ । दुखाइको प्रकृति फरक भएकोले मुटुको समस्या हुनेहरुले चाडैनै चिकित्सकसँग सल्लाह लिनुपर्छ । अझ हृदयाघातको कारणले छाती दुखेमा त १ मिनेट पनि समय खेर नफाली अस्पताल पुग्नुपर्छ ।

आखिर के कति कारणले छाती दुख्छ त ?
छाती दुखेमा पहिला मुटु र फोक्सो दुई प्रमुख अंगहरुमा देखिएको समस्या हो वा होइन भन्ने पहिचान गर्नुपर्छ । छातीको बनावटमा हड्डी, मांशपेशी, नशा र छालाको पनि भूमिका भएकाले यी अंगहरुको समस्या भएर पनि छाती दुखाईको समस्या व्यहोर्नेहरुको संख्या पनि नेपालमा धेरै छ । देशका अधिकांश अस्पतालमा ओ.पि.डीमा छाती दुखेर जँचाउन आउने धेरैजसो बिरामीहरुमा हड्डी, मांशपेशी, नशा र छालाको समस्या नै प्रमुख भएका तथ्य अध्ययन र अनुभवले देखाएको डा. ओम मूर्ति अनिल बताउँनुहुन्छ । तर आकस्मिक कक्षमा आएका विरामीको पहिला मुटु र फोक्सोको जाँच गर्नु नै उचित हुन्छ । अर्थात इमर्जेन्सीमा छाती दुखेर आउने बिरामीहरुमा फोक्सो वा मुटु सम्बन्धी समस्याका कारणले छाती दुखेको हो वा होइन भनि निश्चित गर्नुपर्छ । यसबाट रोगको सहि निदान हुन्छ ।

यसरी पहिचान गर्न सकिन्छ छाती दुखाईको कारण
फोक्सोको कारणले छाती दुख्दाः लामो श्वास लिँदा वा फेर्दा चस्स छातीको एकातिर(दायाँ\बाँया) करङ्मा दुख्छ । दुब्लो मानिसमा यो समस्या अन्यको तुलनामा बढी देखिने गरेको छ । यस्तो बेलामा स्वाँस्वाँ हुने ज्वरो आउने पनि हुन सक्छ । निमोनियाको कारणले पनि छाती दुख्ने समस्या देखापर्ने चिकित्सकहरु बताउँछन् ।

माँसपेशी वा हड्डीको कारण हुने दुखाईः छातीको दायाँ भाग, पछाडी वा छेउतिर करङ्गमा दुख्यो भने मांसपेशी वा हड्डीको कारणले हुनसक्छ । हातले छाम्दा दुख्ने, श्वास फेर्दा दुख्ने, छातीको घुमाइसँगै दुखाईको तिब्रतामा परिवर्तन आउने जस्ता लक्षण यसमा देखिन्छन् । यी भागको दुखाईमा मुटु सम्बन्धी समस्या निक्कै कम हुन्छन् ।
मुटुका कारण देखापर्ने दुखाई : छातीको बिच भाग वा बायाँतिर एकनासले दुख्ने वा दबाब महसुुस गर्ने वा पोल्ने हुन सक्छ । दुखाईको तिब्रता कम वा बढी पनि हुनसक्छ । दुखाई सँगसँगै धेरै पसिना आउने, वान्ता हुन खोज्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, कमजोरी हुने जस्ता लक्षणहरु भएमा मुटु सम्बन्धी समस्याका साथै दयघातको जोखिम बढी हुन्छ । हृदयघातको सुरुवाती संकेतसँगै छातीको दुखाई देब्रे हात, घाँटी वा पीठ्युमा सर्न पनि सक्छ ।

छाती दुखाईका अन्य समस्याहरु
अकस्मात् छाती दुख्यो र बीचमा नदुखीकन छेउको भागतिर दुखेको छ भने फोक्सो दुखाइको सम्भावना बढी हुन्छ । निमोथेराक्स वा हावा भरिनु जस्ता कारणले यो समस्या देखिन्छ । हावा भरिदैँ गयो भने फोक्सोको अरु भागलाई थिच्छ र मुटुलाई काम गर्न दिँदैन, कतिपय अवस्थामा यहि समस्याले मुत्युसमेत हुने गरेको छ । छातीको दुखाइको अर्को महत्वपूर्ण कारण फोक्सोमा पानी भरिनु हो । पानी भरिएर दुखेको छ भने बिस्तारै दुख्दै जान्छ, लामो समयसम्म यो समस्या कायम रहन्छ ।

छातीको दुखाइ फोक्सोको क्यान्सरको लक्षण पनि हुनसक्छ । यदि फोक्सोको क्यान्सर फैलिएर छातीको भित्तालाई छोएको छ भने पनि छाती दुख्नेक्रमले तिब्रता पाउँछ । क्यान्सरका अरु लक्षण नदेखिन पनि सक्छन् । जस्तो कि, खकारमा रगत आउनु, खाना नरुच्नु, मानिस दुब्लाउँदै जानुलगायत लक्षणसहित छाती दुखेर अस्पताल पुग्नेहरुमा क्यान्सरको समस्या हुने गरेको पाइएको छ । फोक्सोमा संक्रमण, क्यान्सरको लक्षण, छातीमा हावा तथा पानी भरिनुजस्ता कुराहरू छातीको दुखाइका प्रमुख कारण हुन् । छातीको भित्तामा समस्या भयो भने पनि दुख्ने गर्छ । धेरै मानिसहरू छाती दुखेर डराएर अस्पताल धाउने गरेपनि खासै ठूलो समस्या देखिदैन । सामान्य मसल पेन भएको हुन्छ । फोक्सोको संक्रमण भने बढी मात्रामा निमोनियाको कारणले हुन्छ ।

निमोनियाको रोकथामका लागि बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, संक्रमण भएको व्यक्तिभन्दा अलिक टाढा बस्ने, आफूलाई संक्रमण छ भने भिडभाडमा नजाने, आराम गर्ने, पौष्टिक खानेकुरा खाने गर्नुपर्छ । निमोनियाको संक्रमण केही सिमित व्यक्तिमा हुन्छ । जसको प्रतिरोधात्मक क्षमता कम हुन्छ, चिसोमा बढी खेल्छन, यस्ता व्यक्तिमा निमोनियाको जोखिम बढी हुन्छ । अरु कुनै क्रोनिक बिमारी जस्तै, सुगर, फोक्सो, मिर्गौलालगायतका बिमारीहरु भएमा डाक्टरको सल्लाहअनुसार नियमित रूपमा औषधी सेवान र उपचार गरिराख्नुपर्ने हुन्छ । छाती दुख्दैमा मुटु र फोक्सोमै समस्या भएको छ भन्ने आत्तिने होइन विशेषज्ञ चिकित्सकको परामर्शमा गएर रोगको पहिचानसहितको उपचारमा सबैले ध्यान दिनुपर्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ