Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली मुलका युवाले पाए अष्ट्रेलियाको संघीय संसदको टिकट, को हुन त विनोद पौडेल ?

नेपाली मुलका युवाले पाए अष्ट्रेलियाको संघीय संसदको टिकट, को हुन त विनोद पौडेल ?


ब्रिजबेन, काठमाडौं । मे २१ मा हुने अस्ट्रेलियाको संघीय संसदीय निर्वाचनमा एक नेपाली युवाले निर्वाचन लड्ने भएका छन् । चितवन स्थायी घर भइ हाल अस्ट्रेलिया बस्दै आउनुभएका नेपाली मुलका विनोद पौडेल सत्तारूढ दल लिबरल पार्टीबाट माकार्थर क्षेत्रमा सांसदको उमेदवार बन्नुभएको हो ।

अस्ट्रेलियाको राजनीतिक इतिहासमा नेपाली मुलका व्यक्तिले संघीय संसदको निर्वाचनमा सांसदको टिकट पाएको यो दोस्रो पटक हो । यसअघि सन २०१९ मा भएको निर्वाचनमा पिजे श्रेष्ठले लिबरल पार्टीबाटै सांसदको टिकट पाएपनि स्थापीत आदिवासी नेतृ लिन्डा बर्नीसँग पराजित हुनुभएको थियो ।

प्रवासी नेपालीले हालसम्म कुनै पनि विदेशी राष्ट्रको संघीय सांसदमा प्रतिनिधित्व गर्न नपाएको समयमा माकार्थर क्षेत्रमा पौडेलले चुनाव जितेमा इतिहास रच्नेछन् । १५ वर्ष अगाडि विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका पौडेल सत्तारूढ दलबाट चुनाव लड्दै यस पटक इतिहास रच्ने दाबी गरिरहनुभएको छ । नेपाली मुलको बाहुल्यता रहेको माकार्थर क्षेत्रबाट आफू विजयी हुनेमा ढुक्क रहेको पौडेलले नेपाल ट्युबलाई बताउनुभयो । यसअघि पनि पौडेलले लिबरल पार्टीबाटै काउन्सिलरको चुनाव लड्नुभएको थियो ।

को हुन त विनोद पौडेल ?
नेपालको चितवन स्थायी घर भएका पौडेल १५ वर्ष अघि अध्ययनको क्रममा अष्ट्रेलिया आउनुभएको थियो । पठाइकै क्रममा विगत १० वर्षदेखि लिबरल पार्टीमा आवद्ध रहेर विभिन्न सामाजिक काममा सक्रिय रहँदै आउनुभएको छ । हरेक तीन वर्षमा हुने संघीय निर्वाचनका क्रममा लिबरल पार्टीले विज्ञप्ती जारी गर्दै बिनोद बहुसांस्कृतिक समाजको प्रतिनिधित्व गर्ने एक जुझारू युवा भएकोले माकार्थर क्षेत्रको बलियो अर्थतन्त्र र विकासका लागि महत्वपूर्ण प्रतिनिधि भएको जनाएको छ ।

संघीय निर्वाचनमा नेपाली समाजको तर्फबाट एउटा महत्वपूर्ण अवसर पाएको दाबी गर्दै पौडेलले सबै मिलेर एउटा निर्णयमा पुर्याउनुपर्ने बताउनुभएको छ । टिकटको आधिकारिक घोषणापछि नेपालट्युबसँग कुरा गर्दै पौडेलले आप्रवासीको बाहुल्यता रहेको आफ्नो निर्वाचन क्षेत्रमा सबैलाई सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ । पौडेलले भन्नुभयो, ‘यस क्षेत्रमा आप्रवासीको बाहुल्यता छ । म पनि आप्रवासी (नेपाली मुलको ब्यक्ति) भएकोले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुने विश्वास लिएको छु’, यो जित र हार विनोद पौडेलको मात्र नभइ सिंगो नेपाली समाजको भएको भन्दै अस्ट्रेलियाको केन्द्रिय संसदमा एउटा नेपालीको प्रतिनिधित्व गराउन र नेपाली समुदायको आवाज बन्न सबै मिलेर हातेमालो गर्दै इतिहाँस कोनुपर्ने विनोदले बताउनुभयो ।

लिबरल पार्टीबाट माकार्थर क्षेत्रमा नेपाली मुलका अष्ट्रेलियन युवा पौडेलले टिकट पाउनुले अष्ट्रेलियाको राजनीतिक दलमा नेपाली समूदायको पकड बलियो छ भन्ने समेत पुष्टि गरेको छ । हाल अष्ट्रेलियामा ७५ हजार अध्ययनका क्रममा रहेका विद्यार्थी छन् भने करिब दुई लाख नपाली स्थायी बसोबास गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ