Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतास्मानियाको होबर्टमा नेपाल चिनाउने बिशेष उत्सब, नोभेम्बर ६ मा तपाई छुट्नुहोला है !

तास्मानियाको होबर्टमा नेपाल चिनाउने बिशेष उत्सब, नोभेम्बर ६ मा तपाई छुट्नुहोला है !


ब्रिजबेन । पहिलो पटक अष्ट्रेलियाको तास्मानियामा ‘नेपाल फेस्टिभल तास्मानिया २०२२’ मार्फत नेपाल चिनाउने अभियानको थालनि गरिदैछ । नोभेम्बर ६ तारिखमा तास्मानियाको पर्लामेन्ट्री गार्डन सालामन्का होबर्टमा आयोजना हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको एनआरएन तास्मानियाका संयोजक राकेश शाक्यले जानकारी दिनुभएको हो ।

तास्मानियाका अधिकांश नेपाली व्यवसायीले प्रयोजक बनेर सफल बनाउन लागेको नेपाल फेस्टिभलमा नेपालका चर्चित कलाकार दिपक बज्राचार्यको ‘द रिदम’ बैण्डले प्रस्तुति दिने छ । फेस्टिभलमा परेड, नेपाललाई चिनाउने नेपाल हाउस, नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुतीका साथै स्थानीय कलाकारहरुको अर्थ ब्याण्ड र हिमालयन रकफिल्ड ब्याण्डका कलाकारको भब्य प्रस्तुती हुनेछ । तास्मानियामा रहेका नेपाली भाषी समाजिक संघ–संस्था, खेलकुदसँग सम्बन्धित संघ–सस्थाको ठूलो सहयोग रहेको फेस्टिभललाई केबिए ग्लोबल एजुकेसन एन्ड माइग्रेसन र आरजिआइटी अस्ट्रेलियाले मुख्य प्रायोजन गरेका छन् ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष समेत रहनुभएका तास्मानिया संयोजक राकेश शाक्यसँग ‘नेपाल फेस्टिभल तास्मानिया २०२२’ को तयारी र फेस्टिभलको आवश्यकता बारे नेपाल ट्युबका नेपाल सम्पादक पुण्यप्रसाद धमलाले गरेको संवादको सम्पादित अंश प्रस्तुत छ :

‘नेपाल फेस्टिभल तास्मानिया २०२२’को तयारी कस्तो छ ? किन आयोजना गर्दैहुनुहुन्छ फेस्टिभल ?
– तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल फेस्टिभल तास्मानियामा पहिलो पटक गर्न लागिएको हो । यो फेस्टिभल मार्फत नेपालको भाषा, संस्कृती, परम्परा, भेषभुषा र खानपानलाई प्रदर्शनका साथै विस्तार गर्नु मुख्य उद्देश्य रहेको छ । विशेष गरि नेपाल फेस्टिभल भनेको नेपाल र नेपालीको भिन्न पहिचानलाई चिनाउने, झल्काउने अभियान हो ।

यो फेस्टिभलमा कस्तो सहभागिताको अपेक्षा गर्नुभएको छ ?
– नेपाली र स्थानीय गरेर झण्डै १० हजार दर्शकहरु उपस्थित गराउने लक्ष्य लिएको छ । यस पटक तास्मानियामा रहेका नेपाली भाषी भुटानीलाई पनि सहभागी गराउने प्रयास गरिएकाले सहभागिता बढ्ने आशा गरिएको छ । यसका साथै तास्मानियाका संस्कृती मन्त्री एलसी आर्चर, उपमन्त्री एला हाडड, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल लगायतका अथितिहरुको सहभागिता हुनेछ ।

कार्यक्रमको सेड्युल कस्तो छ नी ?
– विहान १० देखी १२ बजेसम्म परेड, १२ बजेदेखी २ बजेसम्म औपचारिक कार्यक्रम र २ देखी ८ बजेसम्म सांस्कृतिक कार्यक्रम आयोजना गर्नेगरि तालिका बनाइएको छ । यसमा चाइनिज कम्युनिटिको विशेष प्रस्तुतीका साथै स्थानीय कलाकारका समेत विविध प्रस्तुती समेत पस्कनेगरी तयारी गरिएको छ ।

फेस्टिभलको स्लोगन के राखिएको छ ?
– ‘नेपाल फेस्टिभल तास्मानिया २०२२’को नारा अन्य राज्यजस्तै वान कन्ट्री मेनी स्टोरिज राखिएको छ । एउटा राज्यभित्र अर्थात नेपालमा रहेका बहुभाषा, संस्कृति, भेषभुषा, भाषा सबैको प्रस्तुतीलाई फेस्टिभलमार्फत उजागर गराउने उद्देश्यसँगै नारालाई अघि सारिएको छ ।

अन्त्यमा फेस्टिभल सफल पार्न के आह्वान गर्न चाहानुहुन्छ ?
– यो फेस्टिभल एनआरएनए अष्ट्रेलियाको कार्यक्रम भएपनि तपाई हामी सिंगो नेपाली समूदाय र नेपाली भाषी सबैको साझा कार्यक्रम हो । तास्मानियामा रहेका नेपाली भाषी नजिकका राज्यमा भएकाहरु समेतलाई नोभेम्बर ६ मा तास्मानियाको पर्लामेन्ट्री गार्डन सालामन्का होबर्टमा उपस्थित भएर फेस्टिभल सफल बनाइदिनुहुन आग्रह गर्दछु ।

तास्मानियामा नेपाली समूदायको बाहुल्यता बढिरहेको समयमा पहिलो पटक गर्न लागिएको फेस्टिभललाई विशेष बनाउन लागिएको छ । तास्मानिया राज्यभर २० हजार र होबर्ट क्षेत्रमा मात्रै १५ हजार हाराहारी नेपालीहरुको बसोबास रहेका कारण पनि यो फेस्टिभलमा भब्य सहभागिता हुने र विशेष हुने विश्वास गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ