Tuesday, 30 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनिर्वाचन आयोगमा बुझाए ६४ वटा दलले समानुपातिक उम्मेदवारको बन्द सूची

निर्वाचन आयोगमा बुझाए ६४ वटा दलले समानुपातिक उम्मेदवारको बन्द सूची

रास्वपामा व्यापारी, सेलिब्रेटी र चर्चित अनुहार अरु दलमा के छ ?


काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ ५८ वटा निर्वाचन चिह्नबाट चुनावी प्रतिस्पर्धामा भाग लिनेगरी ६४ वटा राजनीतिक दलले निर्वाचन आयोगमा बन्दसूची बुझाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पेश गरेको बन्दसूचीमा गायक प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म समेटिनु भएको छ । यस्तै उज्यालो नेपालबाट समाहित कलाकार रिमा विश्वकर्मादेखि डा.रामजी राम, अधिकारकर्मी मोहना अन्सारीसम्म, विवेकसिल सझाबाट रास्वपामा जोडिनुभएका समिक्षा बास्कोटा, रञ्जु दर्शना, प्रकाशचन्द्र परियारसम्म समेटिनुभएको छ । पब्लिक स्पिकरका रुपमा परिचित रमेश प्रसाईदेखी रास्वपा सभापतिलाई दुख सुखमा साथ दिदै आउनुभएका पूर्वसञ्चारकर्मी प्रमोद न्यौपानेसम्म बन्द सूचिमा पर्नुभएको छ । भागबण्डामा बालेन शाह, कुलमान घिसिङ र रास्वपा पक्षलाई मिलाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल समेत समानुपातिक सूचिमा समेटिनुभएको छ ।

यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा निर्वाचनको बन्दसूचीमा सबै नयाँ अनुहारलाई समेटेको छ । नेकपाको खस आर्यको पहिलो नम्बरमा करुणा बस्नेत, आदिवासी जनजातिको पहिलो नम्बरमा दीपक जङ्गम, मधेशीको पहिलो नम्बरमा तारा महतो, दलितको पहिलो नम्बरमा गीता गहतराज, थारुको पहिलो नम्बरमा निराशा चौधरी र मुस्लिमको पहिलो नम्बरमा केसर जहा भनिने सकिना मुस्लिम समेटिनुभएको छ । नेकपाले युवा, विगतमा सांसद नभएका, समानुपातिकमा नाम नराखिएका नयाँ अनुहारलाई मौका दिएको छ ।

यस्तै, नेपाली कांग्रेसले ढिला गरेर बन्द सूचि बुझाएको छ । कांग्रेसले संस्थापनपक्षलाई ६० र इतरपक्षलाई ४० प्रतिशतको भागबन्डा मिलाएर उम्मेदवार छनोट गरेको छ । कांग्रेसले पनि ०६४ यताका समानुपातिकबाट सांसद बनेका कसैलाई पनि सूचीमा राखेको छैन । बन्दसूचीको पहिलो नम्बरमा आदिवासी जनजातितर्फ पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र खस आर्यतर्फ नेता अर्जुननरसिंह केसी पहिलो नम्बरमा पर्नुभएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादवदेखि तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, नेता भिमसेनदास प्रधान, युवा नेत्री उर्मिला थपलिया, कविता यादव लगायत बन्द सूचिमा समेटिएका छन् ।

यस्तै, नेकपा एमालेको बन्द सूचीमा माओवादी केन्द्रबाट एमालेमा आउनुभएका हालका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ समेत समेटिनुभएको छ । बादल बाहेक पद्मा अर्याल, गुरु बराललगायतका शीर्षनेतृत्व पनि समानुपातिकमा समावेश छन् । अनेम संघकी अध्यक्ष टुका हमाल, युवा संघकी पूर्व अध्यक्ष निरु पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी र पूर्वसहरी विकास मन्त्री मन्जु चौधरीको नाम पनि बन्द सूचिमा समेटिएको छ । यस्तै जेनजी पुस्ताबाट नवनिर्वाचित केन्द्रीय सदस्य निता घतानीको पनि नाम राखिएको छ ।

राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची आयोगमा बुझाएको छ । राप्रपाले आयोगमा बुझाएको बन्दसूचीमा ११० जनाकै नाम समावेश छ । जसमा तोरणबहादुर गुरुङ, खुस्बु ओली, मोहनकुमार श्रेष्ठ, निरुपमा यादव, प्रह्लाद साह, गोपाल दाहाल, राजेन्द्र गुरुङलगायतलाई समेटिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ