Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआशाको सञ्चार गर्ने तीन खोप, कहिले कम होला कोरोनाको गती ?

आशाको सञ्चार गर्ने तीन खोप, कहिले कम होला कोरोनाको गती ?


एजेन्सी काठमाडौं । कोरोना भाइरसको महामारी तत्काल नियन्त्रणमा आउने सम्भावना नदेखिएपनि केही खोप निर्माणका सकारात्मक प्रयासले भने आशावादी बनाएको छ । महामारीको एक मात्र उत्तम विकल्पका रुपमा खोप रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा स्वास्थ्य विज्ञले बताउँदैगर्दा केही वैज्ञानिकहरुले तीव्र रुपमा काम गरेर छिट्टै खोप आउने आशा जगाएका हुन् ।

सामान्य अवस्थामा खोप बनाउनका लागि वर्षौँ लाग्ने भएपनि अहिले कोरोना विरुद्धका कम्तीमा २३ वटा सम्भावित खोपहरु मानवीय परीक्षणको चरणमा छन् । यी मध्ये तीन खोपहरु मानवीय परीक्षणको अन्तिम चरणमा पुगेको र सुरक्षित तथा प्रभावकारी देखिएको वैज्ञानिकहरुले दाबी गर्दै आएका छन् ।

यी हुन, विश्वभर आशाको सञ्चार गर्ने तीन खोप

सिनोभाक बायोटेकको कोरोनाभ्याक
चीनको सिनोभाक बायोटेकले निर्माण गरेको यो खोप तेस्रो चरणको मानवीय परीक्षणमा रहेको बताइएको छ । अहिले ब्राजिलमा परीक्षण भइरहेको खोपलाई सम्भावित खोपहरुको सूचिमा सबैभन्दा अघि राखिएको छ । कोरोनाभ्याक नाम दिइएको यो खोपको तेस्रो चरणको मानवीय परीक्षणका लागि बंगलादेशले समेत स्वीकृति प्रदान गरेको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन
अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्युडको पहलमा विकास गरिएको यो खोप कोरोना भाइरसविरुद्धको सबैभन्दा आश गरिएको खोप हो । खोपको उत्पादनको स्वीकृति ब्रिटिस–स्वीडिस औषधि निर्माण कम्पनी एस्ट्राजेनेकाले पाएको छ ।
मानवीय परीक्षणका क्रममा सुरक्षित तथा प्रभावकारी देखिएको यो खोप बृहत स्तरको मावनीय परीक्षणको चरणमा छ । यहि वर्षको अन्त्य वा आउँदो वर्षको सुरुमा प्रयोगका लागि तयार हुने गरि काम भइरहेको उत्पादकको दाबी छ ।

मोदेर्नाको खोप
अमेरिकी कम्पनी मोर्देनाले निर्माण गरिरहेको एमआरएनए–१२७३ खोप पनि अहिले मानवीय परीक्षणको अन्तिम चरणमा छ । यो खोपको निर्माण र मानवीय परीक्षण गरिरहेका बैज्ञानिकहरुले कोरोना भाइरसलाई न्यूट्रलाइज गर्ने एन्टिबडी निर्माण गरेको दाबी गर्दै आएका छन् । केही सामान्य साइड इफेक्ट्स देखिएको यो खोप मोदेर्नाका सरुवारोग क्षेत्रका अनुसन्धानकर्ता र अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थ (एनआइएच) को सहकार्यमा निर्माण भइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ