Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia४ महिनापछि बल्ल मिल्यो दुइ अध्यक्षको मन । समाजसेवामा हातेमालो गर्ने सहमति ।

४ महिनापछि बल्ल मिल्यो दुइ अध्यक्षको मन । समाजसेवामा हातेमालो गर्ने सहमति ।


सरल गुरुङ/ब्रिजवेन
गैर अवासिय नेपाली संघ कुइन्सल्याण्डका अध्यक्ष र कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिका अध्यक्ष हरि खड्काबिच अब झगडा नगर्ने मेलमिलाप भएको छ ।
लामो छलफल र प्रयासपछि गत आइतबार एनआरएनए कुइन्सल्याण्डका कोषाध्यक्ष शम्भु घैंसेको निजी निवासमा भएको छलफलपछि दुइ अध्यक्षले मनमुटाव छोडेर सहकार्य गर्ने निर्णय गरेका हुन् । एनआरएनए कुइन्सल्याण्डका सल्लाहकार समेत रहनुभएका राम गौतम र कुइएनसिसिका पदाधिकारी समेत रहनुभएका देव पौडेलको रोहवर र सहकार्यमा दुइ अध्यक्षबिच टेबलटक भएको हो ।

झण्डै तीन घण्टाको छलफलमा क्युएनसिसिका अध्यक्ष हरि खड्काले एनआरएनए कुइन्सल्याण्डका अध्यक्ष उमेश खड्कासंग यसअघि गरिएको गालीगौलजबारे गल्ती भएको भन्दै माफी मागेको बैठकमा उपस्थित एक सहभागीले बताए । नेपालट्युबसंग कुरा गर्दै अध्यक्ष उमेश खड्काले व्यक्तिगत रुपमै गाली गौलज गरेपछि चित्त दुखेपनि भेटेरै माफी मागिसकेकाले अब यसलाई लम्बाइरहनुपर्ने कारण नरहेको बताउनुभयो । त्यस्तै क्युएनसिसिका अध्यक्ष हरि खड्काले बैठकमा व्यक्तिगत तबरमा गाली गर्नु आफ्नो गल्ती भएको र त्यसले निम्त्याएको असमझदारी अन्त्य गर्न आफुले माफी मागिसकेको बताउनुभयो । दुबै अध्यक्षले अब सहकार्य र सहमति गरेर अघि बढ्ने बाचा गरेका छन् । बैठकमा कुइन्सल्याण्डका तीन मुख्य संस्थाबिच सहकार्य गर्न एकसाताभित्र लिखित सम्झौता गर्ने पनि निर्णय भएको छ । उनीहरुले एनआरएनए, क्युएनसिसि र नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड एनएक्युबिच सहकार्य गर्ने निर्णय गरेका हुन् ।

कोरोनाबाट प्रभावित विद्यार्थीलाई कसले राहत बाड्ने भन्ने विवाद लम्बिदा कुइन्सल्याण्ड राज्यका दुइ नेपाली संस्था का अध्यक्षबिच ४ महिना बोलचालै बन्द थियो । कुइन्सल्याण्डको महत्वपूर्ण दुइ संस्थाका अध्यक्षबिच चार महिना पानी बाराबार हुदा यहाँका नेपाली समाजका सामाजिक कार्यहरु नै अलपत्र पर्दै आएको थियो । जसको पछिल्लो उदाहरण हो साउथ बैंकस्थित शान्ति प्यागोडामा नेपाली कला संस्कृति झल्कने संरचना राख्ने विषयमा छलफल नै नहुनु । मेलमिलाप भएपछि अब शान्ति प्यागोडाको कार्यमा सक्रिय भएर लाग्ने दुबै अध्यक्षले बाचा गरेका छन् । दुइ अध्यक्षबिचको विवादले उनीहरुको संस्थाले गर्ने कार्यक्रमनै एकअर्काले बहिष्कार समेत गर्दै आएका थिए । उनीहरुको यस्तो हर्कतपछि सामाजिकस्तरमा सहमति र सहकार्य गर्नुपर्ने आवाज उठेको थियो । नेपालट्युबले गत महिना यसविषयमा समाचार प्रकाशित गरेपछि यो विषय झनै सतहमा आएको थियो ।
कोरोनाबाट प्रभावित नेपाली विद्यार्थीलाई राहत बाड्ने विषयमा भएको जुम मिटिङमा आफुमाथी क्युएनसिसिका अध्यक्षले व्यक्तिगत र पेशागत जिवनलाई घोचेर तथानाम गाली गरेको भन्दै एनआरएनए कुइन्सल्याण्डका अध्यक्ष उमेश खड्का रिसाउनुभएको थियो । मार्चको तेस्रो हप्तादेखि अष्ट्रेलियाले कोरोना नियन्त्रण गर्न लकडाउन गरेको थियो । लक डाउन लगत्तै एनआरएनए अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई ४० डलर बराबरको खाद्यान्य बाड्ने घोषणा ग¥यो । कुइन्सल्याण्डमा भने सामाजिक अभियन्ता मोहन राईले समेत त्यस्तै खाले राहत बाड्ने भएपछि अन्यौलता छाएको थियो । त्यहि अन्यौलता अन्त्य गर्न कुइन्सल्याण्डका नेपाली संस्थाहरुबिच कसको नेतृत्वमा राहत बाड्ने भन्ने छलफल भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ