Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआजदेखि कुईन्सल्याण्ड र भिक्टाेरियामा गाडी हाक्दा माेवाईल चलाएकाे फाेटाे खिच्ने क्यामेरा जडान । यस्ताे छ जरिवाना

आजदेखि कुईन्सल्याण्ड र भिक्टाेरियामा गाडी हाक्दा माेवाईल चलाएकाे फाेटाे खिच्ने क्यामेरा जडान । यस्ताे छ जरिवाना


सरल गुरुङ/ब्रिजवेन, गाडी हाक्दा मोवाईल फोन चलाउदा दुर्घटनाको उच्च जोखिम रहने ठहर गर्दै अष्ट्रेलियाका सडकमा विशेष क्यामेरा जोडिन थालिएको छ ।
गाडी हाक्दा मोवाईल चलाएको फोटो सुटुक्क खिच्न सक्ने अत्याधुनिक क्यामेराहरु कुइन्सल्याण्ड र भिक्टोरियामा जुलाई २९ तारिख मंगलबारबाट संचालनमा ल्याईएको छ । यस्तो क्यामेरा यसअघि न्यु साउथ वेल्स राज्यमा प्रयोग भईरहेको छ । सवारी दुर्घटना कम गर्न उपयोगी देखिएपछि अन्य राज्यहरुले पनि प्रयोग गर्न लागेका हुन् । गाडी हाक्दा मोवाईलबाट टेक्स्ट गर्ने, ईमेल गर्ने र गुगल चलाउदा सडक दुर्घटना १० गुणाले वृद्धी भएको तथ्यांक छ ।

भिक्टोरिया र कुइन्सल्याण्डमा दुई दुई क्यामेराबाट निगरानी सुरु गरिएको हो । तर, यी क्यामेराहरु सजिलै एक ठाउबाट अर्को ठाउमा लान मिल्ने भएकाले स्थान परिवर्तन गरि कहिले पुल, मोवाईल टावर र ट्राफिक चिन्हहरुमा राखिनेछन् ।
गाडी हाक्दा मोवाईल चलाएको तस्बिर यो क्यामेरा खिचेमा कुईन्सल्याण्डमा १ हजार डलर जरिवाना र ४ डिमेरिट नम्बर घट्नेछ भने भिक्टोरियामा उतिनै डिमेरिट नम्बर र ४ सय ९६ डलर जरिवाना तिर्नुपर्नेछ ।
क्यामेरा जडान भएको स्थानबारे सडकमा पुर्व जानकारीको कुनैपनि संकेत नराखिने भएकाल चालकहरु आफै सचेत हुनुपर्नेछ । यो क्यामेराले खराब मौसम होस् वा धेरै लेन भएको सडक होस् त्यहा कुदिरहेको सवारीलाई २४ घण्टा निगरानी गर्न सक्छ ।
खुसीको कुरा बुधबारबाट संचालनमा आउने क्यामेराले तस्बिर खिचेका चालकहरुलाई अहिले नै भने कारवाहि गरिदैन । भिक्टोरियामा ३ महिना र कुइन्सल्याण्डमा यो वर्षको अन्तिमसम्म परिक्षण गरिनेछ । परिक्षणकालमा मोवाईल चलाएको भेटिए हुलाकबाट सचेतपत्र पठाईनेछ ।

क्यामेराले कसरी काम गर्छ ?

कारभित्र मोवाईल फोन चलाएको फोटो खिच्ने यो प्रविधी अष्ट्रेलियामै विकास भएको हो । यसले चालक वा यात्रु कसले फोन चलाएको हो सजिलै फरक छुट्याउन सक्छ ।
यो क्यामेरा खिचेको तस्बिरहरु मानिसले पुन जाँच गरेपछि मात्र अघिको कारवाही प्रकृया बढाईन्छ ।
गत वर्ष नोभेम्बरमा न्यु साउथ वेल्स राज्यमा जडान गरिएको यी क्यामेराले परिक्षण अवधी सकिएपछिको पहिलो दुई महिनामा २१ हजार चालकलाई कारवाही गर्न सफल भएको थियो ।
न्यु साउथ वेल्समा सन् २०१९ को जनवरीदेखि जुनसम्म ८।५ मिलियन गाडीलाई यो क्यामेराले निगरानी गरेको एनएसडब्लु सडक विभागले जनाएको छ । जसमा १ लाख चालक कारवाहिमा परे भने ३५ मिलियन डलर राजस्व संकलन भएको छ ।
त्यसैले अब भिक्टोरिया र कुईन्सल्याण्डका चालक पनि सचेत हुने समय आएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ