२ करोड १७ लाख नेपालीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन पाउने

काठमाडौं। कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई खोप उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने योजनासहित तयारी अघि बढाएको हो ।
केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ । यीमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी रहेको बताइएको छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइने गरि तयारी भएको बुझिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक एवं खोप व्यवस्थापन प्राविधिक तयारी समितिका संयोजक डा.श्यामराज उप्रेतीले विश्वमा बनिरहेका कोभिडविरुद्धको भ्याक्सिन १४ वर्षमुनिका बालबालिकालाई ट्रायल नगरिएका कारण सो उमेर समूहकालाई नदिइने बताउनुभयो ।
नेपालमा २८ प्रतिशत जनसंख्या १४ वर्षमुनिका छन् ।कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत भ्याक्सिन निःशुल्क ल्याइने जनाइएको छ । बाँकी ५२ प्रतिशत नागरिकलाई भ्याक्सिन लगाउन आवश्यक पर्ने बजेट सरकारले बेहोर्नेगरि सरकारले ४८ अर्ब रुपैयाँ बजेटको प्रारम्भिक अनुमान गरेको छ । नेपालमा खोप भण्डारण गर्ने माइनस ७० डिग्री सेल्सियसको कोल्ड चेन नरहेकाले फाइजरको खोप आउने सम्भावना न्यून बनेको छ । सरकारले माइनस २० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्नुपर्ने खोपका लागि तयारी गरेको छ । नेपालमा दिइने खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिँदै आएको छ ।
सार्क राष्ट्रअन्तर्गत कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको पाइएको छ । भारतपछि सबैभन्दा धेरै नेपालमा संक्रमणमुक्त भएको सरकारी तथ्यांक रहेको छ ।
तपाईको प्रतिक्रिया