अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, केहीले अब बाहिरबाटै आवेदन दिनुपर्ने

अस्ट्रेलियाले २ अक्टोबरदेखि विद्यार्थी भिसा आवेदनसम्बन्धी नियममा थप कडाइ गरेको छ।
नयाँ नियमअनुसार केही विद्यार्थीले अस्ट्रेलियाभित्रैबाट अर्को विद्यार्थी भिसा आवेदन दिन पाउने छैनन्।
विशेषगरी पटक-पटक कोर्स परिवर्तन गर्ने विद्यार्थीलाई यो नियमले बढी असर पार्न सक्ने एक्सपर्ट एजुकेशन एण्ड भिसा माइग्रेसनका रजिस्टर एजेन्ट सूर्य पोखरेलले जानकारी दिनुभयो।
‘अस्ट्रेलियामा रहेका सबै विद्यार्थीले अब अनिवार्य रूपमा बाहिर गएर विद्यार्थी भिसा आवेदन दिनुपर्छ भन्ने होइन। नियमले निश्चित अवस्था र अपवाद तोकेको छ। तर आफ्नो अध्ययनलाई निरन्तरता नदिई पटक-पटक कोर्स वा शिक्षा प्रदायक परिवर्तन गर्ने विद्यार्थीका लागि यो व्यवस्था चुनौतीपूर्ण हुन सक्छ,’ पोखरेलले भन्नुभयो।
तर आफ्नो कोर्स पूरा गरेर उच्च तहको अध्ययनमा जाने विद्यार्थीलाई केही अवस्थामा अस्ट्रेलियाभित्रैबाट आवेदन दिन सकिने व्यवस्था छ।
पोखरेलले विद्यार्थीले भिसा आवेदनअघि आफ्नो कोर्स, अध्ययन तह र भिसा अवस्थाबारे राम्रोसँग बुझ्नुपर्ने बताउनु भएको छ।
नयाँ नियमअनुसार केही अन्य अस्थायी भिसामा रहेका व्यक्तिले पनि विद्यार्थी भिसाका लागि अस्ट्रेलियाबाहिरबाटै आवेदन दिनुपर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








