सनसाइनकोष्टको खोलामा डुबेर एक नेपालीको गयो ज्यान
ब्रिजवेन
पौडी खेल्ने क्रममा डुबेर अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्यको सनसाइनकोष्टमा एक नेपाली पुरुषको ज्यान गएको छ ।
गैरआवासिय नेपाली संघ कुइन्सल्याण्डका अनुसार डिपेन्डेण्ट भिषामा रहेका ४० वर्षिय नेपाली पुरुषको ज्यान गएको हो । सनसाइनकोष्ट नजिकै पर्यटकिय क्षेत्र मलेनीस्थित गार्डेनर्स झरनाको तलाउमा डुबेर मंगलबार साझ ती पुरुषको ज्यान गएको हो ।
पौडी खेलेपछि नजिकैको ढुंगामा बसिरहेका ती पुरुष केही बेरपछि पानीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै मृतकका भाईले बताउनुभयो । साझ ५ बजेतिर बेपत्ता ती पुरुषको शव साझ ८ बजेतिर झण्डै ६ मिटर तल पानीमुनीबाट प्रहरीले निकालेको थियो । मृतकसंगै अन्य ४ जना साथीभाई पनि झरनामा संगै पुगेका थिए । मृतकको पोष्टमार्टम गरेपछि मात्रै के कारणले घटना भएको भन्ने थप एकिन हुनेछ । ती पुरुष १८ महिनाअघि मात्रै अष्ट्रेलिया आएको बुझिएको छ ।
घटनाबारे जानकारी पाएपछि परिवारलाई सहयोग गर्न पहल गरिरहेको एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्काले जानकारी दिनुभयो ।
गत महिना सिड्नी नजिकैको तलाउमा डुबेर एक नेपाली युवकको ज्यान गएको थियो । त्यस्तै गत वर्ष कुइन्सल्याण्डको स्टार्टब्रुक आइल्याण्डको समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको थियो । अष्ट्रेलियाको उखरमाउलो गर्मी छल्न पौडी खेल्ने क्रममा नेपालीको ज्यान जाने क्रम बढ्न थालेको छ ।
तपाईको प्रतिक्रिया