Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुइन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रको सदस्यता शुल्कमाथी प्रश्न

कुइन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रको सदस्यता शुल्कमाथी प्रश्न


ब्रिजवेन
कुइन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र अर्थात क्युएनसिसिका आजिवन सदस्यहरुले संस्थाको सदस्यता शुल्क बारे प्रश्न उठाएका छन् ।
संस्थाको साधारण सभाको पुर्वसन्ध्यामा सार्वजनिक सदस्यता विवरणमा सदस्यता शुल्क तिरेको भनिएका व्यक्तिहरुको नाम छुटेपछि केही आजिवन सदस्यहरुले क्युएनसिसि पदाधिकारीसंग जवाफ मागेको हो ।
कम्तिमा पनि १० जना व्यक्तिको नाम शुल्क तिरेको भनि क्युएनसिसिको फेसबुक पेजमा सार्वजनिक भएको तर उनीहरुको नाम सदस्यता विवरणमा नभएकाले थप स्पष्ट पार्न पदाधिकारीसमक्ष माग गरिएको नाम खुलाउने सर्तमा क्युएनसिसिका एक आजिवन सदस्यले नेपाल ट्युबलाई जानकारी दिनुभयो । अनौपचारिक छलफलका क्रममा संस्थाका पदाधिकारीले आजिवन सदस्यता शुल्क तिर्ने बाचा गरेका केही मानिसहरुले समयमा पैसा नर्तिदा समस्या आएको भन्दै जवाफ दिएको ती सदस्यले बताउनुभयो ।
शुल्क नै नतिरी संस्थाको फेसबुक पेजमा ती व्यक्तिहरुको फोटोसहित शुल्क तिरिसकेर आजिवन सदस्यता लिएको भनेर किन झुठो प्रचार गरियो भन्ने हाम्रो प्रश्न हो ती सदस्यले भन्नुभयो ।
त्यस्तै अर्का एक आजिवन सदस्यले त अधिवेशनका लागि गठित निर्वाचत आयोग समक्ष लिखित रुपमा निवेदन दिएर छानविनको माग समेत गर्नुभएको छ ।
नाम गोप्य राख्ने सर्तमा ती सदस्यले सदस्यता शुल्कबाट जम्मा भएको भनिएको २० हजार डलरको हिसाब नदेखिएको भन्दै तत्काल छानविन गरि वास्तवकिता बाहिर ल्याउन अनुरोध गरेर निवेदन हालेको बताउनुभयो । यदि आयोगबाट छानविन नभए आफु कानुनी बाटोमा समेत जानसक्ने ती सदस्यले निवेदनमा उल्लेख गरेको दाबी गर्नुभएको छ । क्युएनसिसिको आजिवन सदस्य बन्नका लागि १५ सय देखि २ हजार डलर शुल्क तोकिएको छ ।
यसअघि सन् २०१९ अप्रिलमा सम्पन्न गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनका ताका आजिवन सदस्यता घोषणा भएको सदस्यता शुल्कमा समस्या देखिएको बुझिएको छ । एनआरएन निर्वाचन ताका उमेद्वारहरुले मतदातालाई आफ्नो पक्षमा पार्न क्युएनसिसिको आजिवन सदस्यता घोषणा गर्ने क्रम बढेको थियो । एनआरएनए चुनावका बेला मतदातालाई प्रभाव पार्न क्युएनसिसिका केही पदाधिकारीले पैसा नै नतिरेका व्यक्तिको फोटो राखेर आजिवन सदस्य बनिसके भनेर प्रचार गरेको हुनसक्ने ती सदस्यले दाबी गर्नुभयो ।
उता क्युएनसिसिले पनि सदस्यता शुल्कमा केही गुनासो आएको स्विकारेको छ । संस्थाका सचिव नारायण पन्थीले नेपाल ट्युबसंग कुरा गर्दै आजिवन सदस्यता शुल्क बारे अनौपचारि रुपमा कुरा उठेको स्विकार्नुभएको हो ।
सदस्यता शुल्क तिर्ने बाचा गरेका व्यक्तिले समयमा पैसा नर्तिदा समस्या आएको पन्थीले बताउनुभयो । ‘हामीले एनआरएनए चुनावका बेला मेमन्टम सृजना गर्न सदस्यता संख्या बढाउने अभियानलाई तिव्रता दिएको सा“चो हो’ -पन्थीले भन्नुभयो -‘तर, त्यत्ति बेला आजिवन सदस्य बन्न शुल्क तिर्ने बाचा गर्नुभएका केही व्यक्तिले समयमा शुल्क नतिरिदिदा समस्या आएको हो ।’
शुल्क नै जम्मा नभई हामीले फेसबुकमा रकम तिरिसक्यो भनेर पोष्ट गर्नु गल्ती भएको पन्थीले स्विकार गर्नुभयो । ‘हामीले उहा“हरुलाई विश्वास गरेर शुल्क तिर्नुभयो भनेर पोष्ट गरौं अहिले आएर समस्या भयो’ पन्थीले भन्नुभयो ।
‘सदस्यता शुल्कमा कुनै हिनामिना भएको छैन’- पन्थीले भन्नुभयो -‘केबल तिर्छु भनेका व्यक्तिले नतिर्दा समस्या आएको हो ।’ त्यसैले सदस्यता शुल्कमा हिनामिना भयो भनेर पदाधिकारीमाथी शंका नगर्न समेत पन्थीले सबैमा आग्रह गर्नुभएको छ । यस विषयमा आगामी जनवरी ३१ मा हुने महाधिवेशनमा थप स्पष्ट पारिने पन्थीले जानकारी दिनुभयो ।
क्युएनसिसिका अध्यक्ष हरि खड्काले पनि सदस्यता बारे केही प्रश्न उठेकाले छानविन गरेर सत्यतथ्य बाहिर ल्याईने बताउनुभयो । यस्तो विषयले सामुदायिक भवन निर्माणको काममा समाजलाई विभाजित गर्न नहुने खड्काको भनाई छ ।

आजिवन सदस्यता बन्ने बाँचा गरेका केही व्यक्तिले पैसा नतिरेको कुरा क्युएनसिसिका एक पदाधिकारी निरज क्याप्टेनले समेत फेसबुकमा पोष्ट गर्नुभएको छ । क्याप्टेनले लेख्नुभएको छ –‘बिगत दुइ वर्षदेखि एनआरएनएका चुनाब लगायत आफ्नो व्यवसाय प्रचारप्रसार कै निम्ती क्युएनसिसिको सस्दय बन्ने बाचा गरि क्युएनसिसिको एकाउन्टमा पैसा जम्मा गर्ने सर्तमा यस संस्थाको आधिकारिक फेसबुकबाट सस्दयता घोषणा गराइसक्नुभएका तर अहिलेसम्म पनि पैसा जम्मा नगर्नु हुने तपाई सबैलाई सकेसम्म चाडै क्युएनसिसिको सम्पर्कमा आई आफ्नो बाचा पुरा गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।’

सन् २०१९ मा गठित क्युएनसिसिले ब्रिजवेनमा नेपाली कला सांस्कृतिक केन्द्र बनाउने अभियान सुरु गरेको छ । सामुदायिक भवन बनाउनका लागि रकम संकलनमा सक्रिय क्युएनसिसिले सदस्यता शुल्क, सांस्कृतिक कार्यक्रम र अन्य चन्दालाई मुख्य आर्थिक स्रोत बनाउदै आएको छ । हाल स्थानिय काउन्सिलसंग सहकार्य गरेर भवनका लागि जग्गा खोज्ने काममा जुटेको क्युएनसिसिले सबै नेपालीलाई एक ढिक्क भएर नेपाली पहिचानलाई जोगाउने कार्यमा एकजुट हुन आग्रह गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ