Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsओली सरकारमा रहेका माओवादीका चार सांसदको पद खारेज, सत्ताबाट कहिले बाहिरिएलान ?

ओली सरकारमा रहेका माओवादीका चार सांसदको पद खारेज, सत्ताबाट कहिले बाहिरिएलान ?


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जना सांसदको पद खारेज भएको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा जानकारी गराएको दल त्यागको सूचना बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएसँगै चारैजनाको संसद पद गुमेको हो ।

सांसद पद गुमाउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको थियो । २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका उनीहरु पछिल्लो समय नेकपा एमालेमा प्रवेश गरेका थिए । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता देव गुरुङले संघीय संसद सचिवालयमा पार्टीको कार्यकारी समितिको बैठकको निर्णय समावेश गरी आफ्नो दलका ४ प्रत्यक्ष निर्वाचित सांसदहरु टोपबहादुर रायमाझी, प्रभू शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीले अन्य दलको गतिविधिमा संलग्न भएको सूचना जानकारी गराउनुभएको थियो ।

सभामुख सापकोटाले अर्को दलको केन्द्रीय कमिटी सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम ४ सांसदको पद रिक्त भएको जानकारी दिनुभयो । राजनीतिक दलसम्बन्धी दफा ३५ को उपदफा १ बमोजिम र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१२ को उपनियम १ बमोजिम पद रिक्त भएको सभालाई जानकारी गराइएसँगै अब यी चारै जना मन्त्रीले बढीमा ६ महिनासम्म सरकारमा बस्न पाउने भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ