Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsयुरोकप फुटबल : आज स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड भिड्दै

युरोकप फुटबल : आज स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड भिड्दै


एजेन्सी । युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गतका दुई महत्वपुर्ण खेलमा आज राती स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्यान्ड बिच प्रतिस्पर्धा हुन लागेको हो । डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् । स्पेन समूह ’ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा गरेको हो । क्रोएसियाले समूह ’डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेको थियो ।

क्रोएसिया र स्पेनबीच मुख्य प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको दुई भेटमा दुबै टोलीले एक एक खेल जितेका छन् । नेसन्स लिग अन्तर्गत सन् २०१८ को सेप्टेम्बर स्पेनले क्रोएसियालाई ६–० ले हराएको थियो । २–१८ को नोभेम्बरमा भएको खेलमा भने क्रोएसियाले स्पेनलाई ३–२ ले हराएको थियो ।

यस्तै, रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२ः४५ बजे दोश्रो खेल हुनेछ । साविक उपविजेता समेत रहेको फ्रान्स समूह ’एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विट्जरल्यान्ड समूह ’ए’ बाट उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजा हेर्दा फ्रान्स बलियो देखिएको छ । फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ । दुई टिमबीच मुख्य प्रतियोगितामा पाँचौं पटक भिड्न लागेका हुन् ।

आइतबारको खेलबाट बेल्जियम र चेक रिपब्लिक क्वाटर फाइनलमा
बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनमा आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरेका थिए । पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।

यस्तै अर्को खेलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको छ । हंगेरीमा आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले पराजित गरेको हो । पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ