Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकोरोना विरुद्ध लड्न एनआरएनले दिने भयो १ करोड रुपैयाँ

कोरोना विरुद्ध लड्न एनआरएनले दिने भयो १ करोड रुपैयाँ


अष्ट्रेलिया/ सरल गुरुङ

कोरोनासंग जुधिरहेको नेपाललाई विदेशमा बस्ने गैर आवासिय नेपालीहरुले सहयोगको घोषणा गरेका छन् । कोरोनाविरुद्ध लड्नका लागि गैरआवासिय नेपाली संघले नेपाल सरकारलाई एक करोड रुपैया सहयोग गर्ने घोषणा गरेका हुन् । संघको आइतबार बसेको बैठकले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने वा सल्लाहबमोजिम आवश्यक औषधिजन्य सामग्री प्रदान गर्ने निर्णय गरेको हो । संघले अध्यक्ष कुमार पन्तको नेतृत्वमा एक उच्चस्तरिय समितिसमेत निमार्ण गरेको छ । सो समितिको मातहतमा रहने गरि कोषाध्यक्ष महेशकुमार श्रेष्ठको नेतृत्वमा राहतकोष संकलन उपसमिति समेत भएको छ । त्यस्तै उपाध्यक्ष बद्री केसीको नेतृत्वमा भौतिक सामग्री सहयोग उपसमिति समेत गठन भएको छ । संघले विश्वभरका शाखाहरुबाट कोरोना संक्रमित नेपालीको तथ्यांक समेत संकलन गर्ने तयारी गरेको अध्यक्ष पन्तले जानकारी दिए । 

सार्क क्षेत्रमा कोरोना विरुद्ध लड्न यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले १० करोड रुपैया सहयोग गर्ने घोषणा गरेका थिए ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई एनआरएनएले दिने भयो राहत प्याकेज ।

कोरोनाबाट प्रभावित नेपाली विद्यार्थीका लागि गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले राहत प्याकेज घोषणा गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै एनआरएनए अष्ट्रेलियाले भर्खरै अष्ट्रेलिया आएका नेपाली विद्यार्थीका लागि ३० दिनसम्म खाद्यान्न उपलब्ध गराउने जनाएको हो । एक महिने खाद्यान्न सहयोग पाउनका लागि केही मापदण्डहरु छन् । हालै अष्ट्रेलिया आएको, जागिर नभएको, सेल्फ आईसोलेसनमा बसेको तथा आफन्त कोही नभएको जस्ता मापदण्ड तोकिएको छ ।
सहयोग पाउनका लागि विद्यार्थीले आफु बस्ने राज्यको एनआरएनएसंग सम्पर्क गर्नुपर्ने छ । त्यस्तै एनआरएनएले सेल्फ आईसोलेसनमा बस्नुपर्ने अन्य नेपालीलाई पनि १५ दिनसम्म खाद्यान्न उपलब्ध गराउने जनाएको छ । यस्तो सहयोग पाउन आर्थिक समस्या भएको हुनुपर्नेछ । यो सहयोग मार्च २३ सोमबारबाट मात्र उपलब्ध हुने विज्ञप्तीमा भनिएको छ । राहत सामाग्री कति र कस्तो हुने भन्ने बारे सम्बन्धित राज्य संयोजकले निर्धारण गर्नेछन् । कोरोनाका प्रकोप बढ्दै गएकाले एनआरएनए अष्ट्रेलियाले यसअघि नै कम्युनिटी टाक्स फोर्स निर्माण गरिसकेको छ । टाक्स फोर्स राष्ट्रिय संयोजकको जिम्मा कोमलराज पाठकले लिएका छन् । त्यस्तै हेल्प लाईनको संयोजन प्रवक्ता नन्द गुरुङले गरिरहेका छन् । नेपाली विद्यार्थी र समुदायमा पर्न सक्ने आपतसंग जुध्न एनआरएनए अष्ट्रेलियाले सबै संघसंस्था र व्यापारीसंग हातेमालो गर्न अनुरोध गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ