Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा संविधानको सात वर्ष, सधै स्मरण भैरहन्छन यी ७ पात्र

नेपालमा संविधानको सात वर्ष, सधै स्मरण भैरहन्छन यी ७ पात्र


काठमाडौं । २०६४ साल चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो । २ वर्षभित्र संविधान निर्माण गर्ने वाचा गरेको संविधानसभालाई म्याद थप गर्दै ४ वर्ष लम्ब्याइयो । तर ४ वर्षको अवधिमा ४ सरकार फेरिए पनि संविधान निर्माणको काम पुरा भएन् । यद्यपि पहिलो संविधानसभाको ४ वर्षे कार्यकालमा भएका राजनीतिक छलफल, अध्ययन र टुंगो लागेका विषयहरू संविधान निर्माणका लागि उपयोगी भने बने । यसैले २०७० साल मंसिरमा भएको निर्वाचनबाट गठित दोस्रो संविधानसभाले पहिलो संविधानसभाले गरेका कामहरूको स्वामित्व लिदै ७ दशक लामो संविधानसभाबाट संविधान लेख्ने मुद्दाको नेतृत्व २०७२ साल असोज ३ गते पुरा भएको थियो ।

संविधान जारी भएको यति लामो समयसम्म शिक्षा, स्वास्थ्य लगायतका कतिपय मौलिक हकहरु कागजमा मात्रै सिमित भएको राजनीतिक दल र कार्यकर्ताले तीन तहका सरकारमार्फत हरेक अवशरहरु पाउँदा जनताको जीविका थप असहज बनेको भन्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथी असन्तुष्टि बढ्दो क्रममा छ । संविधानका गुण र दोष भन्दा पनि ६ वर्षअघि आजैका दिन संविधान जारी हुँदाको बखत नेपाली राजनीतिका खास पात्रहरूले संविधान निर्माणका लागि खेलेको भूमिकालाई यहाँहरुमाझ स्मरण गराउन चाहन्छौँ । जुन योगदान आजसम्म स्मरणीय छ ।

 

१. डा.रामवरण यादव
गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव नेपालको संविधान जारी गर्ने व्यक्तिसँगै संविधानको पहिलो संरक्षकसमेत हुनुहुन्छ । सेरेमोनियल भूमिकामा भए पनि संविधान यादवकै हातबाट जारी भएकोले अनवरत रुपमा यो स्मरण भैरहनेछ । डा. यादवले राजनीतिक दलहरूलाई सधै सहमति, सहकार्य र एकताका लागि प्रेरित गर्दै सन्तुलनकारी भूमिका निभाउनु भएको थियो । संविधान निर्माण प्रक्रिया नै बहिष्कार गरेर असन्तुष्ट बनेका राजनीति दल र समुदायलाई सहमतिमा ल्याउन सुझबुझपूर्ण सुझाब राष्ट्रपति यादवले दिनुभएको थियो । मधेसवादी दलहरूको माग सम्वोधन गर्नका लागि तत्काल संविधान जारी गरिनहाल्ने अनौपचारिक अडान लिएपनि मुख्य दलहरूभित्र बढ्दैगरेको असन्तोष, दबाब र जनआकांक्षासमेत बुझेर असोज ३ गते संविधान जारी गर्न तयार हुनुभएको थियो । डा. यादवले नेपालको संविधानको पुस्तकलाई शीरले ढोगेको तस्बिर सधैभरी ‘आइकनिक’बनिरहेको छ । संविधानसभाबाट जारी संविधानको विगत, वर्तमान र भविष्यसँग पूर्वराष्ट्रपति यादव सधैँ जोडिइरहनेछन् । पूर्व राष्ट्रपति यादव संविधानको स्वीकार्यता बढाउनुपर्ने पक्षमा अहिलेपनि क्रियाशिल हुनुहुन्छ ।

२. सुशील कोइराला
नेपाली कांग्रेस पंक्तिले मात्रै नभएर आम जनताले सुशील कोइरालालाई संविधान निर्माणको मुख्य पात्रका रूपमा बुझ्ने गरेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बनेपछि संविधान निर्माण प्रक्रियाको राजनीतिक नेतृत्व गर्ने अभिभारा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाले पाउनुभयो । प्रधानमन्त्रीका रूपमा सिंहदरबारसँगै संविधान निर्माणको अगुवाइ गनुभएका कोइरालाले पहिलो संविधानसभाको कार्यकालमा बनेका चारवटा कम्युनिष्ट सरकारबाट परा नभएको ६ दशक अघिदेखीको सपना आफ्नै कार्यकालमा साकार बनाउनुभयो । सत्ता साझेदार नेकपा एमाले र प्रतिपक्षमा रहेको नेकपा माओवादी दुवैलाई समेटेर संविधान निर्माणको राजनीतिक अगुवाइ गर्नुभएका कोइरालाले संविधान जारी गर्ने अन्तिम क्षणमा चर्को भारतीय दबाबलाई समेत चिरेर घोषित मितिमा संविधान जारी गर्ने पक्षमा आफूलाई उभ्याउनुभएको थियो । तत्कालीन भारतीय विदेश सचिव एस जयशंकरले नेपाल आएर दलका नेताहरूलाई संविधान जारी नगर्न खुल्ला चेतावनी दिएपनि जनताका प्रतिनिधिले लेखेको संविधान जारी गराउन भूमिका खेलेका कोइरालाले संविधानप्रति असन्तुष्ट रहेका दलको माग पूरा गराउन जारी भएको १८ दिनमै संविधान संशोधनको पहल गर्नुभएको थियो ।

३. सुवासचन्द्र नेम्वाङ
संविधानसभा अध्यक्षका रूपमा सुवासचन्द्र नेम्वाङले समेत संविधान जारी गर्न निर्वाह गरेको भूमिका स्मरणीय रहनेछ । राजनीतिक दलहरूबीच विवाद चुलिएका बेला सहमतिका लागि नेम्वाङले देखाएको सक्रियता सबैका लागि स्मरणयोग्य छ । आ–आफ्नो विचार र वादअनुसार संविधानका धारा लेख्न उद्दत राजनीतिक दलबीच अधिकतम सहमति गराइ संविधान जारी गराउँदासम्म नेम्वाङले नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

४. केपी शर्मा ओली
पहिलो संविधानसभामा सदस्य नरहेपनि दोश्रो संविधान सभाको प्रारम्भ देखिनै नेकपा एमालेका अध्यक्ष केपी शर्माले संविधान निर्माणमा सक्रियता देखाउनुभयो । संविधान जारी हुनुअघि र भएपछि लिएको राजनीतिक अडानका लागि ओली नेपाली राजनीतिमा स्मरणीय पात्रका रुपमा परिचित हुनुहुन्छ । नेपाली कांग्रेससँग एमालेले सत्ता साझेदारी गरेको समयमा संविधान निर्माणपछि घोषणाका लागि विलम्व गराउन भएका देशी–विदेशी प्रयासलाई निस्तेज पार्न तत्कालीन प्रधानमन्त्री र सभाध्यक्षलाई ओलीले नै दरिलो साथ दिनुभएको थियो । नेकपा माओवादी, नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकसंगको सहमतिका आधारमा यथाशीघ्र संविधान जारी गराउन भूमिका खेल्नुभएका ओली संविधान जारी भएलगत्तै प्रधानमन्त्री हुनुभयो । संविधानकै विषयमा असन्तुष्ट बनेर भारतले नेपालमाथि कडा नाकाबन्दी लगाएपनि भारतीय दवावसँग नझुकी देशवासीलाई नाकाबन्दीको सामना गर्न र गराउन उनै ओलीले उत्प्रेरित गर्नुभएको थियो ।

५. पुष्पकमल दाहाल ‘प्रचण्ड’
आफूलाई संविधानसभाको सूत्रधार भन्न रुचाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत संविधान निर्माणको निर्णायक घडीमा कठोर निर्णय लिनुभयो । जनवादी संविधान बनाउन सशस्त्र संघर्षको नेतृत्व गर्नुभएका प्रचण्डले दोस्रो संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गराउन आफ्नै पार्टी विभाजनसम्मलाई सहजै पचाउनुभयो । प्रतिपक्षमा रहेर आन्दोलनको मोर्चा हाँकिरहनुभएका प्रचण्ड २०७२ सालको भूकम्पलगत्तै संविधान निर्माणमा सहमति जुटाउन सक्रिय बन्नु भएको थियो । संविधानमा अधिकांश परिवर्तनका एजेण्डा समावेश गराउन प्रचण्डको भूमिका उल्लेख्य रहेको छ । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता संविधानका मुख्य अन्तरवस्तु नै प्रचण्डले नेतृत्व गरेको माओवादी आन्दोलनका प्रमुख एजेन्डाका रुपमा युगौँसम्म स्मरण भैरहनेछन् ।

६. डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक संवाद समितिको कुशलतापूर्वक नेतृत्व गरेकै कारण दोश्रो संविधान सभाबाट संविधान जारी गर्न सम्भव भएको थियो । संविधानका मूलभूत विषयमा दलहरूबीच भएका विवादहरूको निरुपण भट्टराई नेतृत्वको संवाद समितिले नै गरेका थियो । संविधानसभामा रहेका सबै दलका शीर्ष नेताहरूको सहभागिता रहेको समितिमार्फत संविधान लेखनमा योगदान दिनुभएका भट्टराईले संविधान जारी भएपछि भने आफ्नो राजनीतिक कोर्स नै परिवर्तन गर्नुभएको छ ।

७. कृष्णप्रसाद सिटौला
शुरूआतदेखि नै शान्तिप्रक्रिया सफल पार्न सक्रिय हुनुभएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुशलतापूर्वत संविधान मस्यौदा समिति सभापतिको भूमिका निभाउनुभयो । संविधानसभाका समितिले टुंग्याएका विषयको मस्यौदा लेखनको अगुवाइ गर्नुपर्ने जटिल जिम्मेवारी उहाँले पुरा गर्नुभयो । दलहरूबीच शब्द वा कमाका विषयमा पनि विवाद हुने समयमा समन्वयकारी भूमिका खेलेर सिटौलाले संविधान मस्यौदाको काम टुंग्याउनुभएको थियो । दलहरूबीच संवाद र सहमति कायम गरी संविधान जारी गराउन तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको विश्वासपात्र र सहयोगीका रूपमा सिटौलाले खेलेको भूमिका हरेक संविधान दिवसमा स्मरण भैरहनेछ ।

संविधान जारी भएको सात वर्ष प्रवेश गर्दैगर्दा अझपनि ठूलो समूदायले अपनत्व लिन चाहेको छैन । मधेशवादी दलसँगै नागरिकमा रहेको संविधानप्रतिको जायज फरक मतलाई संशोधन प्रतियामार्फत संबोधन गराउन पहल गरौँ । नेपालको संविधान सर्वस्विकार्य दस्तावेज, ठूला दलका नेताहरुले दाबी गरेजस्तै विश्वकै उत्कृष्ठ संविधान बनोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ