हेलिकप्टर दुर्घटनामा परेर भारतीय वायु सेना प्रमुख बिपिन रावतको मृत्यु
काठमाडौं । भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर ६३ वर्षको उमेरमा निधन भएको छ । तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा पत्नी मधुलिकासहित जनरल रावतको निधन भएको हो । भारतीय वायु सेनाले ट्वीट गर्दै जनरल रावतसहित हेलिकप्टरमा सवार १४ जना मध्ये १३ जनाको ज्यान गएको जानकारी दिएको हो ।
सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनामा परेको थियो । घाइते भएका एक जनाको उपचार भइरहेको छ । हेलिकप्टर कोयम्बटोरमा रहेको सुलुर आईएएफ सैन्य सिविरबाट वेलिङ्गटनमा रहेको ‘डिफेन्स स्टाफ कलेज’ तर्फ जाने उडेपछि दुर्घटनामा परेको बताइएको छ । दुई वटा इन्जिन भएको सुरक्षित मानिने एमआई–१७बी ५ हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ । घटना लगत्तै रक्षा मन्त्री राजनाथ सिंह बिपिन रावतको घर पुगेर उहाँको परिवारसँग भेट गर्नुभएको छ । सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पनि जनरल रावतको घर पुग्नुभएको छ।
सन् २०२० को जनवरी १ मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त हुनुभएका जनरल रावत सन् २०१६ डिसेम्बर ३१ तारिखदेखि २०१७ जनवरीसम्म भारतका २६ औँ सेना प्रमुख बन्नुभएको थियो । जनरल रावतको जन्म सन् १९५८ मार्च १६ मा उत्तराखन्डको पौडी जिल्लामा एक सैन्य परिवारमा भएको हो । रावतका बुबा सेनामा लेफ्टिनेन्ट जनरल हुनुहुन्थ्यो । जनरल रावत सन् १९७८ मा सेनामा भर्ना भएको पाइएको छ ।
तपाईको प्रतिक्रिया